गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्यु
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।
ड्युटीमै रहेका बेला आइतबार बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । यादव बीओपी बरहरीमा कार्यरत थिए ।
सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको उनले बताएका छन् । तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ ।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित