सुनसरी, मोरङ र झापामा ‘टाइम कार्ड’ लागू
काठमाडौँ । सवारी दुर्घटना बढेपछि सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको छ ।
शनिवारदेखि कोशी प्रदेशमा सवारी साधनको लागि टाइम कार्ड लागू गरिएको हो ।
पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरेर टाइम कार्ड लागू गरिएको प्रहरीले जनाएको छ ।
गत दुई हप्तामा कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।
टाइम कार्ड लागू भए सँगै अब विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेट समयावधि तोकिएको छ । इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेट र काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि भने ३० मिनेट समय निर्धारण गरिएको छ ।
त्यस्तै झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय तोकिएको छ ।
टाइम कार्डको सुरुवात मोरङको सुन्दरहरैँचा–७ स्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी चन्द्रकुवेर खापुङले गरेका हुन् ।