नरेशमाथि श्रीमती ममताको हत्या गरेर शव लुकाएको मुद्दा
काठमाडौं । अमेरिकामा रहेका नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणले नयाँ मोड लिएको छ । उनीमाथि हत्या गरेर शव लुकाएको आरोपमा उनका श्रीमान् नरेश भट्टविरुद्ध औपचारिक मुद्दा चलाइएको छ । यो घटनाको सुनुवाइ अदालतमा हुन लागेको हो ।
नरेश, जो भूतपूर्व अमेरिकी सेनाका सदस्य हुन्, जुलाई ३० मा ममताको हत्या गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । प्रारम्भिक अनुसन्धान अनुसार, ममता र नरेशको घरको एउटा कोठामा फेला परेको रगतको डीएनए परीक्षणले उक्त रगत ममताकै भएको पुष्टि गरेको छ ।
ममताको हत्या भएको प्रमाणित भए पनि उनको शव भने अहिलेसम्म फेला परेको छैन । मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार, सुरुदेखि नै यो घटना हत्या भएको आशंका गरिएको थियो । डीएनए परीक्षण र अन्य प्रमाणहरूले पनि यसलाई बलियो बनाएको छ ।
ममता, जो प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्, अन्तिमपटक जुलाई २७ मा काममा उपस्थित भएको देखिएकी थिइन् । लामो समयसम्म काममा नआएपछि सहकर्मीहरूले प्रहरीलाई उनको बेपत्ताबारे जानकारी दिएका थिए ।
अगस्ट २ मा प्रहरीले ममता र नरेशको घरमा छापा मारेको थियो । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक जुलाई ३१ मा भेटेको बताएका थिए । तर, प्रारम्भिक अनुसन्धानपछि उनलाई अगस्ट २२ मा ममतालाई हराएको अभियोगमा पक्राउ गरिएको थियो ।
लामो अनुसन्धानपछि नरेशले ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेश गरिएको छ । बुधबार अदालतमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइनेछ । प्रहरीले भने शव खोजी कार्यलाई निरन्तर जारी राख्ने बताएको छ ।
यो घटनाले नेपाली समुदायमा गहिरो चिन्ता र दुःखको वातावरण सिर्जना गरेको छ । अब अदालतको फैसलाले यस घटनामा न्यायको प्रत्याभूति गराउने अपेक्षा गरिएको छ ।