शहरका मतदाताले ठूला दल रुचाएनन्, सामाजिक सञ्जालको कु-प्रचार एमालेलाई भारी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनको नतिजा विश्लेषण गर्दै माओवादी केन्द्रले आफ्नो जनमतमा सुधार गर्न सफल भएको स्वीकार गरेका छन् । उनले आफ्नो पार्टीका लागि पनि यो नतिजा सुधारोन्मुख भएको दाबी गरेका हुन् ।
महासचिव पोखरेलले माओवादी केन्द्रले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्दै जनमतमा सुधार गरेको उल्लेख गरे । यद्यपि, काठमाडौँ उपत्यकामा एमालेले अपेक्षित सफलता हासिल गर्न नसकेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनको नतिजालाई लिएर एमाले तेस्रो स्थानमा रहेको भनेर प्रचार गरिएकोमा असहमति जनाउँदै नतिजाको विस्तृत विश्लेषणले त्यो ठहर असत्य देखाएको दाबी गरे । ‘निर्वाचन क्षेत्रको विगत र राजनीतिक प्रभावलाई हेर्दा एमालेका लागि पनि परिणाम सकारात्मक रहेको प्रस्ट हुन्छ,’ उनले भने ।
एमालेले विगतमा जितेका ७ वडाध्यक्षमध्ये यसपटक ५ वडाध्यक्ष र थप १ गाउँपालिका अध्यक्ष तथा २ उपाध्यक्षको पद हासिल गरेको पोखरेलको भनाइ छ। उनले माओवादी केन्द्रको जितमा विगतमा नेपाली कांग्रेससँगको तालमेलबाट छोडिएका सिटहरू पनि समावेश भएको उल्लेख गरे । कोसी प्रदेशको तराई क्षेत्रमा माओवादीले जनमतमा सुधार गरेको उनले स्वीकार गरे ।
उनले काठमाडौँमा अपेक्षाअनुसारको नतिजा नआएकोमा आत्मसमीक्षा गर्दै शहरी क्षेत्रमा मुलधारका राजनीतिक दलहरू प्रति मतदाताको आकर्षण कमजोर रहेको र सामाजिक सञ्जालमा एमाले तथा नेतृत्वविरुद्ध भएका नकारात्मक प्रचारहरूले पनि नतिजामा प्रभाव पारेको बताए । पोखरेलका अनुसार, यसपटकको निर्वाचनले मतदाताको बदलिंदो मनोवृत्तिलाई उजागर गरेको छ ।
विगतका जनप्रतिनिधिहरूप्रति स्थानीय जनता सन्तुष्ट नभएको र सुधारको सन्देश दिएको उनले जोड दिए । उनले भने, ‘जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने पाठ यस उपनिर्वाचनले दिएको छ ।’
यस्तो छ उनको विश्लेषण
उपचुनावको परिणाम र शिक्षा
उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ ।
उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा नेकपा(माओवादी केन्द्र) ले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए । नेकपा(एमाले)ले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्दछ ।
चुनावी परिणामका हिसावले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले उसले २ अध्यक्ष र ३ उपप्रमुख/उपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ । नेकपा(माओवादी केन्द्रले १ अध्यक्ष र १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपी माओवादीको जितमा विगतको चुनावमा नेकां संगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यद्यपी कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।
जहाँसम्म नेकपा(एमाले)को परिणामको विषय छ विगतमा जितेका ७ वडाध्यक्षका ठाउमा उसले एक अध्यक्ष, दुई उपाध्यक्ष सहित ५ वडाध्यक्ष जितेको छ । गुमेको २ वडाध्यक्षका ठाउमा १ अध्यक्ष र २ उपाध्यक्ष सहित ३ पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले नेकपा(एमाले)का लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ ।
तर नेकपा (एमाले)का स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाण्डौमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।
यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ । नेकपा(एमाले) विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा (माओवादी केन्द्र) ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो ।साना दलहरुवाट जित्नेको अवस्था पनि त्यस्तै देखियो । जसपाले आफुले जितेको गुमायो । नयाँ ठाउमा चुनाव जित्यो । स्वतन्त्रले जितेको ठाउमा पनि स्वतन्त्रले जित्न सकेन । नयाँ ठाउमा स्वतन्त्रले जितेको देखियो । यसवाट जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको/गरेको देखिन्छ । यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।