काठमाडौं गुर्खाजको पहिलो जित, फेरी हार्यो कर्णाली याक्स
एजेन्सी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ ।
कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौं गुर्खाजले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौं गुर्खाजले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौँको जितमा सुमित महर्जनले शानदार पारि खेले । उनले ४० रनको नट आउट पारि खेले ।
यस्तै काठमाडौँका कप्तान करण केसीले गेम चेन्जर इनिङ खेले । उनले १० बलमा २८ रनको कप्तानी पारि खेले ।
गेर्हार्ड इरास्मसले ३८ रनको योगदान दिए । आज पनि काठमाडौँको टप अडर ब्याटर चल्न सकेनन् ।
ओपनर शंकर राना ६ रनमा आउट भए भने माइकल लेविटले २२ रन जोडे । स्टीफन एस्किनाजीले ३ रनको योगदान दिँदा भीम सार्कीले ९ रन जोडे । राशिद खान शून्य रनमा रन आउट भए भने साहब आलम शून्य रनमा नट आउट रहे ।
कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुलशन झा, जिशान मकसूद र बिपिन शर्माले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । शिखर धवनको अर्धशतीय पारीको मद्दतमा कर्णाली याक्सले एक सय ४९ रन बनाएको थियो ।
कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए ।
त्यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।
बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए ।