जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छ : कानूनमन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानुनी अप्ठ्याराहरू फुकाइने बताएका छन् ।
मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानुनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालमा संविधानमा देखिएको कमी कमजोरीहरू फुकाएर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले लोकतान्त्रिक व्यवस्थामा जनतालाई न्याय दिन अप्ठ्यारो भएका ठाउँहरूमा संविधान संशोधन हुने जिकिर गरे ।
नागरिकलाई सहज बनाउनका लागि कानुन संशोधन हुने र विधेयक ल्याइने बताए । कानूनमन्त्री चौरसियाले अहिलेको व्यवस्थामा समस्या र चुनौती भएपनि समाधानको उपाय उच्च नैतिक मूल्यका साथ खोज्नुपर्ने बताए ।
उनले भने ‘एउटा कुरा म विश्वस्त छु । मेरो कार्यकालमा संविधानमा जहाँ जहाँ कमी, कमजोरी देखिएको छ । जुनजुन कारणले जनतालाई न्याय दिन यो लोकतान्त्रिक व्यवस्थामा अप्ठ्यारो छ । त्यहाँ त्यहाँ संविधान संशोधन हुन्छ । ऐन कानुन संशोधन हुन्छ । विधेयक ल्याइन्छ ।’
मन्त्री चौरसियाले न्याय बिनाको लोकतन्त्र अधुरो रहने र अघि बढ्न नसक्ने बताए ।