कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक समूह सहितको टोली कोलकता प्रस्थान

काँकडभिट्टा । हिमालयन ओरेन्ज टुरिजम फेस्टिभलको लागि कोशी प्रदेशको टोली कोलकता प्रस्थान गरेको छ । विभिन्न सांस्कृतिक समूहहरू सहित १५० भन्दा बढी सहभागी ओरेन्ज महोत्सवकोलागि कोलकता प्रस्थान गरेको हो ।

कोलकता प्रस्थान गर्नु अघि पर्यटन कार्यालय काँकडभिट्टाको व्यवस्थापनमा ग्रीन जेनेरेशन झापाले पत्रकार सम्मेलन गर्दै भारतमा हुने ओरेन्ज महोत्सव नेपालको पर्यटन प्रवर्द्धनसँग समेत जोडिएको जानकारी गराइएको थियो ।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेश भ्रमण वर्षको पूर्बसन्ध्यामा यो कार्यक्रम भएकोले कोशी प्रदेशको प्रचार प्रसार गर्नुपनि रहेको बताए । उनका अनुसार, कोशी प्रदेश भ्रमण वर्षको सन्दर्भ पारेर कोशीमा पर्यटक भित्र्याउन मुद्रा सटहीलाई व्यवस्थापन भएको बताए । सीमा नाका अध्यागमन कार्यालयले कामलाई सहज बनाएको र पर्यटक गाडीलाई स्टिकर दिएपछि सहज बनाउने काम सुरु भएको उल्लेख गरे ।

ग्रीन जेनेरेशन झापाका महासचिव मन्जिल देवानले कोशी प्रदेशबाट नेपालको प्रतिनिधित्व गर्दै जाने टोलीले कोशी प्रदेशको पर्यटन क्षेत्रको प्रचार प्रसार, गन्तव्य, कोशी प्रदेशका विभिन्न संस्कृति र संस्कारलाई त्यहाँ चिनाउन भुमिका खेल्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले कोलकतामा हुने मेलाले कोशी प्रदेशको मात्र हैन नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

नेकपा एमाले कोशी प्रदेशसभाका सचेतक ललिताकुमारी चौधरी, प्रदेशसभा सदस्यहरू राधाकृष्ण खनाल, सुनिता कुमारी गच्छदार र सुनिता गुरुङको सहभागिता रहेको छ । पर्यटन प्रवर्द्धनको लागि कोशी प्रदेश सभा सदस्यहरू पनि कोलकता प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *