विराटनगर किंग्सले तोड्यो हारको खडेरी, लुम्बिनीमाथि २ विकेटको जित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ ।
लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै विराटनगर किंग्सले हारको खडेरी तोडेको हो । विराटनगरको जितमा ओपनर लोकेश बमले शानदार ब्याटिङ गरे ।
बुधवारको दोस्रो खेलमा जितका लागि लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरको जितमा ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको शानदार पारि खेले । बसिर अहमदले २३ बलमा ४० रनको आक्रामक पारि खेले ।
मार्टिन गुप्टिलले १७ बलमा २८ रनको योगदान दिए । अन्तिममा ब्याटिङ गर्न आएका क्रिस सोलले ४ बलमा १४ रन बनाउँदै विराटनगरलाई जित दिलाए ।
इस्मात आलम शून्य रनमा आउट हुँदा राजेश पुलामी मगरले ४ रनको योगदान दिए । निकोलस किर्टन पनि शून्य रनमा आउट भए ।
दीपक बोहराले ९ रनमा नट आउट रहँदा प्रतिश जिसीले ६ रन बनाए । सन्दीप लामिछाने १ रनमा क्याच आउट भए । अन्तिममा ब्याटिङ गर्न आएका क्रिस सोलले ४ बलमा १४ रन हानेर टिमको जित निश्चित गरे ।
बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए । रामोन सिमन्ड्स र साद बिन जफरले समान २–२ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । टम मूर्स ३० रन बनाएर आउट भए ।
ओपनर आशुतोष घिरैया १५ रनमा रन आउट भए । अर्का ओपनर अर्जुन साउँद १७ रनमा बोल्ड भए ।
सन्दीप जोरा १२ रन बनाएर खेलिरहेका बेला रन आउट भए । साद बिन जफरले १५ रनको योगदान दिए ।
बेन कटिङलाई ६ रनमा सन्दीप लामिछानेले आउट गरे । विवेक यादव १९ र रामोन सिमन्ड्स २ रनमा नट आउट रहे ।
बलिङमा विराटनगरका लागि सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मत आलमले समान १–१ विकेट लिए । सन्दीपले एनपिएल प्रतियोगिताकै पहिलो विकेट लिए ।