सिराहामा ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्लिचेयर वितरण

सिरहा । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पद्मोदय फाउन्डेसनद्वारा सिरहाका ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले ह्विलचेयर वितरण गरेका हुन् ।

मन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘अपाङ्गता भएका व्यक्तिको फरक क्षमताको पहिचान गर्ने र उहाँहरूको सशक्तिकरणका लागि प्रदेश सरकार सदैव सहयोग र समन्वय गर्न प्रतिबद्ध छ ।’ मन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर उकास्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले समाजमा समान अवसर प्रदान गर्न र अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन यस प्रकारका सहयोगको आवश्यकता पर्ने बताए ।

उनले पद्मोदय फाउन्डेसनप्रति आभार व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको ह्विलचेयरले उनीहरूको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।

अपाङ्गता भएका व्यक्तिको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताए । उनले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न यस्ता गतिविधिलाई निरन्तरता दिने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *