मंसिर २८ देखि भक्तपुर महोत्सव आयोजना हुने
काठमाडौं । मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ आयोजना हुने भएको छ । कला र संस्कृतिको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका महोत्सवको आयोजना गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।
मुल आयोजक रहेको भक्तपुर नगरपालिकाले क्षेत्रगत रुपमा अन्य स्थानीय तथा सामाजिक संघसंस्थाहरुलाई क्षेत्रका आधारलाई सहआयोजकको जिम्मेवारी दिएको छ ।
महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको छ । मेला भक्तपुर नगरपालिका-७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा हुने भएको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भएपनि उपयुक्तता र आवश्यकताअनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जानकारी दिए । मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको पनि बताए ।
आयोजकका अनुसार व्यापार मेलामा झन्डै एक सय स्टलहरु रहनेछन् । ती मध्ये ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको आयोजकको दाबी छ ।