संसदीय समितिले निकुञ्जहरूमा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरूको अवलोकन भ्रमणका क्रममा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति मायाप्रशाद शर्माले हालै अवलोकन भ्रमणका क्रममा निकुञ्जहरूमा देखिएका समस्याहरूलाई समेटेर ऐन र नियमावली बनाउने गरी सुझावको रुपमा सरकारलाई प्रतिवेदन बुझाउने बताएका हुन् ।
उनले अवलोकन भ्रमणका क्रममा देखिएका समस्याहरू र समाधानका उपायहरू समितिले औँल्याइदिने उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताए । समितिले भ्रमणका क्रममा अधिकांश निकुञ्जहरूमा सडकको समस्या रहेको पाइएको उनको भनाइ छ ।
सभापति शर्माले भने ‘राष्ट्रिय निकुञ्जहरूका सम्बन्धमा देखा परेका समस्याहरू अन्तरसम्बन्ध र अन्तर्विरोधका कुराहरू, विकास र बितिएका सम्बन्धमा अझै धेरै कुराहरू उठेका छन् । तिनै शीर्षकमा समस्याहरूलाई केन्द्रीकृत गरेर भन्ने विषयमा केन्द्रित गर्यौँ भने रामो होला जस्तो लाग्छ । हामीले समस्या देखाइदिने हो हल गर्ने दायित्व राज्यको हे । जस्तै निकुञ्जहरूमा सडकको समस्या छ, खानेपानीको समस्या छ । सडकहरूलाई कसरी मिलाउने र अवलोकनका क्रममा आएका समस्याहरूलाई केन्द्रित गर्यौँ भने सरकारलाई काम पनि सजिलो हुन्छ । त्यस्तै राष्ट्रिय निकुञ्ज ऐन बनाउने कुरामा पनि सरकारलाई सुझाव दिनुपर्छ । विभिन्न निकुञ्जका सवालमा कार्यविधिहरू फरक भएपनि ऐन त एउटै हुने होला । ऐनमा के लेख्ने सरकारले लेख्नेकुरा भयो । ऐनमा समेट्ने विषयहरू हामीले सुझाव दिन्छौँ ।’
राष्ट्रिय निकुञ्जहरूको संरक्षण र व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने उनको भनाइ छ । बैठकमा राष्ट्रिय सभा सदस्य रेनु चन्दले राष्ट्रिय निकुञ्जहरूको नीतिगत र व्यवहारिक सुधारमा सरकारले काम गर्नुपर्ने बताइन् । उनले सबै निकुञ्जहरूका साझा र विशिष्ट खालका समस्याहरूबारे सरकारलाई सुझावको रुपमा दिनुपर्ने उनको धारणा थियो ।
उनले भनिन् ‘राष्ट्रिय निकुञ्जहरूको नीतिगत र व्यवहारिक सुधारमा काम गर्नुपर्ने हुन्छ । सबै निकुञ्जका साझा समस्याहरू के हुन् रु अध्ययनबाट आएका विषयहरू मिलाएर समाधान गर्न सकिने कुराहरू सुझावका रुपमा दिनुपर्छ । विशिष्ट खालका समस्याहरूलाई छुट्टै रुपमा राख्नुपर्दछ । अब बन्न लागेका निकुञ्जसम्बन्धी ऐन र नियमावलीलाई सहयोग पुग्ने गरि हामीले काम गर्नुपर्यो ।’
अवलोकन भ्रमणका क्रममा देखिएका समस्याहरूको समाधानका लागि समितिले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।
बैठकमा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले तिहारको रौनक र आवश्यक समन्वयन गर्न नसकिएको कारण प्रभावकारी रुपमा छलफल बहस गर्नुपर्ने आवश्यकता रहेको बताइन् । अवलोकन भ्रमण गरिएका निकुञ्जहरुमध्ये चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढी भएका कारण धेरै कुरा बुझ्न नसकेको बताइन् ।
उनले भनिन् ‘हामीले जतिवटा निकुञ्जमा अध्ययन भ्रमण गयौं, त्यसमा चितवनमा अझै अपुरो रहेको महसुस भएको छ । चितवनमा हामीले खासमा वाडेनसँग मात्रै छलफलहरू गर्यौँ । सरोकारवाला सबैसँग छलफल गर्न पाएनौँ । क्षेत्रफल बढी भएका करण पनि हामीले धेरै अध्ययन गर्न पाएका छैनौँ । यहाँ बैठकमा थप छलफल गरौं ।’
हिमाली भेगहरूमा मौसमको कारणले अवलोकन गर्न समस्या भएको उल्लेख गर्दै उहाँले यसबारे विस्तृत छलफल गरेर मात्र प्रतिवेदन बनाउनुपर्ने बताइन् ।