काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काठमाडौं । आगामी मंसिर २२ गतेदेखि हुने काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल भलिबल संघले बुधवार एक कार्यक्रम आयोजना गर्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले उक्त ट्रफी सार्वजनिक गरे ।

सो अवसरमा सदस्यसचिव घिसिङले काभाजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता घरमै आयोजना गर्न राज्यले कम्तीमा एक प्रतिशत बजेट खेलकुद छुट्याउनुपर्ने बताए ।

उनले सीमित श्रोतसाधनका बाबजुद भलिबल संघले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयोजना गर्दै सह्रानीय कार्य गरेको उल्लेख गरे । उनले नेपाली खेलकुदमा सबैभन्दा बढी प्रतियोगिता गर्ने संघ भएको पनि जिकिर गर्दै संघले उत्कृष्ट काम गरेको भन्दै खुलेर प्रशंसा गरे ।

शनिबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपालका दुई क्लबसहित कुल चार राष्ट्रको पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछन् ।

आठौं प्रधानमन्त्री कपकोे शीर्ष दुई स्थानमा रहँदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपको यात्रा तय गरेका हुन् । नेपालको दुई टोलीसहित भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडिसीले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपको फाइनल आगामी मंसिर २९ गते हुनेछ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अहिले क्रिकेटमा सय करोड सम्मको लगानीको व्यवसाय नै बनेको भन्दै अहिले नै क्रिकेट र फुटबलसँग नेपालको भलिबललाई तुलना गर्न नसक्ने बताए ।

उनले यस च्याम्पियनसिपको बजेट एक करोडको रहेको जानकारी दिए । साथै अध्यक्ष चन्दले एफआइभी विश्व च्याम्पियनसिप नेपालमा आयोजना गर्न सके करोडौंको व्यापार गर्नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *