एनपिएलमा जनकपुर बोल्ट्सको ह्याट्रिक जित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको छ ।
एनपिएलको आठौँ र आजको पहिलो खेलमा पोखरा एभेन्जसलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको हो ।
जितका लागि पोखराले दिएको १३९ रनको लक्ष्य जनपुर बोल्ट्सले १७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरको जितमा जिमी निशम र लाहिरु मिलन्थाले आक्रामक पारि खेले । लाहिरु मिलन्थाले ४५ रन बनाएर आउट भए भने जिमी निशम ४० रनमा नटआउट रहे ।
उनले २० बलमा ४० रन प्रहार गरे । हर्ष थाकेर १३ रनमा नटआउट रहे । ओपनर अनिल शाह १ रनमा आउट हुँदा अर्का ओपनर आशिफ शेखले ३३ रनको योगदान दिए ।
बलिङमा पोखराका लागि बिपिन खत्री, माइकल लीस्कल र कप्तान कुशल भुर्तेलले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनायो ।
पोखराका लागि दिनेश खरेलले १० रन बनाए । एन्ड्रिज गौसले २० रन बनाउँदा कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए ।
दिलीप नाथले ११ रनको योगदान दिए । म्याट क्रिचलेले सर्वाधिक ३५ रन बनाए ।
रेमन रेफर १७ रन बनाएर आउट भए । माइकल लीस्कले २५ रनको आक्रामक पारि खेले । नारायण जोशी ५ र विपिन खत्री १ रनमा नट आउट रहे ।
बलिङमा भने जनकपुरका ललितनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए । जिमी निशमले २ विकेट लिए । किशोर महतो र मोहम्मद मोहसिनले समान १–१ विकेट लिए ।