उपनिर्वाचनबाट हौसिएको माओवादी ८४ मा बैशाखी की एक्लै ?
८४ सम्म सत्तामा जान नहुनेमा विश्लेषकको जोड
काठमाडौं । गत आइतबार (मंसिर १६ गते) देशभरका ४१ स्थानीय तहहरुमा उपनिर्वाचन सम्पन्न भयो । सम्पन्न उपनिर्वाचनबाट सबैभन्दा बढी कोही पार्टी उत्साहित छ त,त्यो हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र ।
नेकपा माओवादी केन्द्रले भर्खरै सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा राम्रो मत प्राप्त गर्न सफल भयो । उसले स्थानीय तह उपनिर्वाचनमा एक अध्यक्ष सहित तीन उपप्रमुख र ७ वडाध्यक्षमा जित निकाल्यो । यसरी ११ स्थानमा विजयी भएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने तयारीमा रहेको बताएको छ ।
बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले आगामी निर्वाचन एक्लै लड्ने गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
स्थानीय तह उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समिक्षा गरिएको बताउँदै पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले भने,‘जितेका सिट संख्या र लोकप्रिय जनमत दुवै हिसावले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ । यसले अब आगामी निर्वाचनमा आफ्नै ऐजेण्डा र पहिचान सहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ ।’
उपनिर्वाचनको मतपरिणामबाट उत्साहित भएका अध्यक्ष ‘प्रचण्ड’ले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन,सामाजिक न्याय र आर्थिक समृद्धिको ऐजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वचनलाई लिएका थियौँ,अध्यक्ष प्रचण्डले प्रेस व्यक्तव्य जारी गर्दै भनेका छन्,‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसावबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’
गठबन्धन नगरी अस्तित्वमा रहँदैन भन्ने भाष्य उपनिर्वाचनले गलत सावित गर्यो : उपमहासचिव बस्नेत
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत माओवादी केन्द्र गठबन्धन विना अस्तित्वमा रहन सक्दैन भन्ने गरी जबरजस्त निर्माण गरिएको भाष्य गलत भएको बताउँछन् ।
‘गठबन्धनविना नेकपा माओवादी केन्द्र अस्तित्वमा रहन सक्दैन भन्ने जुन किसिमको जबरजस्त भाष्य निर्माण गर्न खोजिएको थियो,त्यो गलत सावित भएको छ । त्यसलाई व्यवहारिक ढङ्गले स्थानीय तहको उपनिर्वाचनले राम्रो जवाफ दिइसकेको छ,’उपमहासचिव बस्नेतले मकालुखबरसंग भने ।
नेकपा माओवादी केन्द्र राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा पुन:स्थापित हुने एउटा अभियानमा अगाडि बढिरहेको छ भन्ने कुराको स्पष्ट सन्देश र संकेत भर्खरै सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनले दिएको उनी बताउँछन् ।
आगामी निर्वाचनमा नेकपा माओवादीले केन्द्र एक्लै चुनाव लड्ने बताउँदै उनले भने,‘गठबन्धन भनेको परिस्थितीजन्य कुरा हो । यो परिस्थितीले निर्माण गर्ने कुरा हो । माओवादी पार्टी एक्लै चुनाव लड्छ । परिवर्तनको संवाहक हुनुको नाताले माओवादी पार्टीले एक्लै चुनाव लड्ने हैसियत र सोच राख्दछ । त्यसकारण माओवादी पार्टी अन्य प्रतिस्पर्धी पार्टीहरुसंग एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेर राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिका प्राप्त गर्ने अठोटका साथ अघि बढिरहेको छ ।’
हिजो गरिएका गठबन्धनहरुबाट माओवादी केन्द्रलाई लाभ नभई अन्य दलहरुलाई लाभ भएको उनले बताए । ‘हिजोका गठबन्धनहरुले बढी लाभ कुन पार्टीले लिएको थियो बरु नोक्सान कुन पार्टीलाई भएको रहेछ भन्ने कुरा त अहिलेको उपनिर्वाचले स्पष्ट गर्दैन र ? । त्यसैले गठबन्धनबाट उहाँहरु (नेपाली कांग्रेस र नेकपा एमाले) ले लाभ लिइराख्नुभएको थियो धेरै । तर त्यो कुरा माओवादीलाई भनिराख्नुभएको थियो उहाँहरुले । माओवादीतिर फर्काइराख्नुभएको थियो तर लाभ आफुले लिइरहनुभएको थियो,’मकालुखबरसंगको संवादमा संघीय सांसद समेत रहेका उपमहासचिव बस्नेतले भने ।
माओवादी केन्द्रसंग गठबन्धन नगर्दा दुवै दल (नेपाली कांग्रेस र नेकपा एमाले) को अवस्था के थियो भन्ने कुरा सबैलाई थाहा भएको उनले बताए । गठबन्धनबाट माओवादी केन्द्रले लाभ लिएको नभई नेपाली कांग्रेस र नेकपा एमालेले लाभ लिइरहेको कुरा साँचो भएको उनी बताउँछन् ।
सरकारमा हुँदा गरिएका राम्रा कामका कारण माओवादीप्रति आकर्षण बढ्यो : राजनीतिक विश्लेषक डा.चापागाईं
नेकपा माओवादी केन्द्रले पछिल्लो पटक सरकारमा हुँदा गरेरको राम्रा कामहरुका कारण अहिलेको उपनिर्वाचनमा सिट संख्याका साथै जनमत आकर्षित भएको राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईं बताउँछन् ।
‘माओवादी केन्द्र नेकपा एमाले र नेपाली कांग्रेससंग गठबन्धन गरेर चुनाव लड्छ । माओवादी पार्टी अब दुई चार वर्षमा त गुगलमा खोज्नुपर्छ,इतिहासमा पढ्न मात्रै पाइन्छ जस्ता भनाई बजारमा नआएका होइनन् । त्यसका बाबजुत अहिले उपनिर्वाचनमा एमाले-कांग्रेस पार्टीको गठबन्धन हुँदा समेत एक्लै माओवादीले जितेर देखाएको छ,राजनीतिक विश्लेषक डा.चापागाईंले भने,‘अन्य पराजय भएका ठाउँमा पनि नेकपा माओवादी केन्द्रले मतभार बढाएको छ । यसले माओवादी पार्टीप्रति जनताको आकर्षण बेढेको देखाउँछ ।’
माओवादी केन्द्रले सरकारमा हुँदा भ्रष्टाचार नियन्त्रण अभियानअन्तर्गत हाइप्रोफाइल भएका व्यक्तिहरुलाई समेत कानूनी दायरामा ल्याएका कारण माओवादीप्रति जनता आकर्षित भएका मकालुखबरसंगको संवादमा राजनीतिक विश्लेषक डा.चापागाईंले बताए ।
‘नेकपा माओवादी केन्द्रले पछिल्लो पटक सरकारको नेतृत्व गरिेको समयमा ठूला माछा समाउने काम गरेको त होनी । नेपाली कांग्रेसंग नै सत्ता सहकार्य गरिरहेको बेला पूर्व गृहमन्त्रीलाई समाउने काम गरेको त साँचो होनी, राजनीतिक विश्लेषक डा.चापागाईंले भने,‘त्यति मात्रै होइन एमालेका ठूला नेतालाई पनि जेलमा राख्यो ’। नेकपा माओवादी केन्द्रले भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गरेपनि अन्य पार्टीहरुले नगरेको उनी बताउँछन् ।
‘नेकपा माओवादी केन्द्रले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख नारा बनाएर अघि बढेकै कारण जनतामा आकर्षण बढ्यो । प्रचण्ड नेतृत्वको सरकारको पालमा अपराधिहरुलाई समातियो,राजनीतिक विश्लेषक चापागाईंले भने,‘यसबाट जनता पनि प्रभावित भएका छन्,भ्रष्टाचार नियन्त्रणका लागि जुन कदम माओवादी नेतृत्वको सरकारकाले थाल्यो त्यो कदम अरु सरकारले थालेका थिएनन् ।’
माओवादी नेतृत्वको सरकारले गरेका कामहरुको गुड (राम्रो) म्यासेज जनतामा गएको राजनीतिक विश्लेषक डा.चापागाईं बताउँछन् । ‘पराजय भएको ठाउँमा समेत नेकपा माओवाी केन्द्रले पहिले भन्दा राम्रो मत पाएको छ । माओवादीप्रति जनताको आकर्षण बढेको सन्देश निर्वाचनले दिएको छ । चुनाव हारेका ठाउँमा पनि माओवादीले जितेर गएको सन्देश दिएको छ,’उनले भने ।
नेकपा माओवादी केन्द्र आगामी निर्वाचन सम्म सत्तामा जान नहुने बताउँदै राजनीतिक विश्लेषक डा.चापागाईंले भने,‘माओवादी केन्द्र ८४ को निर्वाचनसम्म सत्ता बाहिरै रहेर यदी सुशासन,समृद्धि र भ्रष्टाचार नियन्त्रणको नारालाई स्थापित गर्दै अघि बढेमा सत्ताको नेतृत्वको गर्न सक्छ । यसअवधिमा जनताका बीचमा जाने,जनसंगठन निर्माण गर्ने,गाउँ-गाउँमा जाने र रचनात्मक सहयोग गर्ने हो भने माओवादी पार्टी जसरी विग्रिएको थियो । त्यसरी नै सप्रिन बेर लाग्दैन ।’
उनले भारतस्थित भारतीय जनता पार्टी (भाजपा) को उदाहरण दिँदै अगाडि भने,‘हिजो १९९४ मा भारतमा दुई सिट भएको भाजपा होनी । दुई सिट भएको भाजपाले अहिले तीन कार्यकाल नेतृत्व गरिरहेको छ । यदी अहिले सत्तालिप्सालाई छाडेर माओवादी अघि बढ्ने हो भने राजनीतिमा असम्भव भन्ने हुँदैन,८४ को निर्वाचनपछि सरकारको नेतृत्व गर्न सक्छ ।’
नेकपा माओवादी केन्द्र आगामी निर्वाचनसम्म सत्ता बाहिरै रहनेमा भने उनले आशंका व्यक्त गरे ।