स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्छ : महानगर प्रमुख महर्जन
पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज यहाँ आयोजित २५ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रत्येक वर्ष कुनै न कुनै काम गरिरहेको उल्लेख गरे ।
“तपाईंहरुको हरेक कामको मूल्याङ्कन हुन्छ, यस वर्ष स्वयंसेवक कोषमा नौ लाख रुपैयाँ जम्मा गरिदिनेछौँ”, प्रमुख महर्जनले भने । उनले दिगो विकास लक्ष्य २०३० को उपलब्धि हासिल गर्न बालबालिकाको मृत्युुदर र मातृ मृत्युदर कम गर्न स्वयंसेविकाहरुलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे ।
महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले समाजलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले मातृमृत्युदर र बालमृत्युदर घटाउने महत्वपूर्ण भूमिकामा स्वास्थ्य स्वयंसेविकाहरु रहेकाले उहाँहरुलाई उत्साहित र प्रोत्साहित गरेर अझै सुधार ल्याउनुपर्ने बताए ।
ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा स्वयंसेविकाहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताए । ललितपुर महानगरमा हाल एक सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।