बाबुरामसँग रविको गुनासो- ममाथि राजनीतिक प्रतिशोध साँधियो (भिडिओ)

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

शुक्रवार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूहरूले नयाँ शक्तिको अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताए ।

उनले सभापति लामिछानेलाई अस्वाभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए । सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए । उनले सहकारी पीडितलाई न्याय दिनुपर्न बताए ।

भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए ।

उनले भने ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान सुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ । ती मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । योप्रति अस्वाभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो । उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु । सहकारी सम्बन्धी समस्या छ त्यसको जरो धेरै फैलिएको छ । सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरूकै वरिपरि बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना बचत कर्ताहरू मर्कामा परेका छन् । तिनको समस्या समाधान हुनुपर्छ । अहिले यो कुरालाई अल्झाइराख्ने त होइन भन्ने छ । कानुनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्नेकुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदै छ । उनीहरूको समस्या समाधान गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *