धरानमा गाँजासहित पक्राउ परेका सरकारी नम्बर प्लेटका गाडीहरू नक्कली भएको पुष्टि
काठमाडौँ । धरानमा गाँजासहित पक्राउ परेका सरकारी नम्बर प्लेट भएका दुई गाडीहरू नक्कली रहेको पुष्टि भएको छ ।
उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी पनि नभएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद तिमल्सिनाले गाडीको नम्बर कीर्ते गरेको बताए ।
उनले भने ‘इन्जिन र च्याचिस नम्बर नमिलेको र हालसम्म दर्ता पनि नभएको पाइएको छ, कहाँ दर्ता भइरहेको भन्ने अनुसन्धान भइरहेको छ ।’
उनले सरकारी नम्बर प्लेट भएका गाडीको च्याचिस नम्बर र इन्जिन नम्बर अनुसन्धान गर्दा कहीँ पनि दर्ता नभएको बताए ।
प्रहरीको अनुसन्धान अनुसार बा १ झ ४६०५ नम्बरको कीर्ते अंकित भएको गाडीको च्यासिस नम्बर इइ१०००००९००० र इन्जिन नम्बर २इ२८९४१५५ रहेको छ ।
तर, उक्त नम्बर भएका गाडीहरू कुनै कार्यालयका सरकारी गाडी नरहेको र यातायात नम्बरमा पनि नमिलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी बा १ झ ५१२७को कीर्ते नम्बर रहेको गाडीको च्याचिस नम्बर जे.डब्लु.बी.ए.ए बी १४२०३११००६ नम्बर र इन्जिन नम्बर जीए १३६३०२४८ बी रहेको छ । उक्त गाडी पनि कहीँ दर्ता नभएको खुलेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले मंसिर १८ गते राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको थियो ।
धरान १३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली समेत फायर गर्नुपरेको थियो ।