के रवि लामिछानेको मानवअधिकार हनन् भएको हो ?

कानूनविद् भन्छन्–यो स्वाभाविक प्रक्रिया हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कार्तिक २ गतेदेखी प्रहरी हिरासतमा छन् । सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई हिरासतमा राखिएको भन्दै रास्वपा नेता,कार्यकर्ता आन्दोलनमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानकै लागि रुपन्देही,कास्की,काठमाडौं र चितवन पुर्‍याइसकिएको छ ।

पछिल्लो पटक उनलाई अनुसन्धानका लागि चितवन लगिएको थियो । साहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाको रकम अपचलन अभियोगमा बुधवार अवेर बयान सकिएपछि राति नै पोखरा लगिएको हो ।

चितवनमा बयान सकिने वित्तिकै रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा पुर्‍याइयो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय चितवनमा मंगलबार र बुधवार गरी दुई दिन बयान लिइएको थियो ।

बुधवार दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा रास्वपा समर्थकहरुले प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो । त्यसैकारण प्रहरीले लामिछानेलाई रातारात पोखरा पुर्‍याएको हो ।

चितवनमा बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने भनिएपनि राति नै उनलाई पोखरा लगिएको हो ।

जिल्ला अदालत चितवनले मंसिर ५ गते साहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा पूर्व गृहमन्त्री समेत रहेका लामिछिाने सहित १० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यसैबीच शुक्रवार रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पोखरा हिरासत पुगेका छन् । लामिछानेसंको भेटपछि सञ्चारकर्मीहरुसंग संवाद गर्दै भट्टराईले राजनीतिक प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राउ गरिएको बताए ।

भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए । उनले आफुहरुले नयाँ शक्तिको अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व रवि लामिछानेले गरिरहेको उनले बताए ।

उनले भने,‘रास्वपा सभापति लामिछानेलाई अस्वभाविक रुपमा दु:ख दिने काम भइरहेको छ । अन्याय भइरहरेको छ । सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेका छन् ।’

पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए । बुधवार चितवनमा बयान सकिएपछि लामिछानेलाई बिहीवार बिहान नियमित उडानमार्फत् पोखरा लैजाने रास्वपा नेताहरुको अनुमान थियो ।

तर,त्यसो नगरी प्रहरीले राति नै लामिछानेलाई स्थलमार्गबाट पोखरा लगेको हो । चितवन प्रहरीले भने सुरक्षाका कारणले मात्रै रातिको समयमा लामिछानेलाई पोखरा लगिएको बताएको छ ।

  • रवि लामिछानेलाई रातारात पोखरा लगिएकामा रास्वपाको असन्तुष्टि,गुहार्‍यो मानवअधिकारवादी संघसंस्था

सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको रहेछ । यो आश्चर्यजनक,निकृष्ट,निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सुचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

रवि लामिछाने कसुरदार नभई एक आरोपित भएको भन्दै सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं । अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं’, कार्यवाहक प्रवक्ता झाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सभापति लामिछानेविरुद्ध पर्साबाट समेत पक्राउ पूर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्न बुधवार पर्सा जिल्ला अदालतले लामिछानेसंगै पूर्व डीआइजी छविलाल जोशी सहित १४ जना विरुद्ध प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनलाई पोखराबाट वीरगञ्ज लैजाने प्रहरीको तयारी छ ।

यसैबीच कानूनविद् कृतिनाथ शर्मा जुनसुकै समयमा पनि अनुसन्धानका लागि प्रहरीले लिन सक्ने उल्लेख गर्दै यो स्वाभाविक प्रक्रिया भएको बताउँछन् ।

‘प्रहरीले जुनसुकै व्यक्तिलाई जतिखेर पनि अनुसन्धानका लागि लान सक्छ । यो स्वाभाविक प्रक्रिया हो । यसलाई अन्यथा लिनुपर्ने,बुझ्नुपर्ने कुरा नै छैन,’कानूनविद् शर्माले मकालुखबरसंग भने ।

यस विषयलाई सहज रुपमा लिनुपर्ने भएपनि रास्वपा कानूनी राज्यमाथिको आक्रमणमा लागिपरेको उनले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कानूनी राज्यमाथिको उपहास गरिरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *