श्रीमान् नरहे पनि हिम्मत रहिरह्यो, सङ्घर्षले दिँदै छ खुसी (भिडिओ)
काठमाडौँ । हातमा सीप भए भोकै बस्नु पर्दैन भन्ने उक्ति त्यत्तिकै आएको होइन रैछ । हाम्रा पुर्खा देखि बस्दै आएको सो उक्ति काठमाडौँको नयाँ बजार ठाउँमा बस्ने चन्ता मोनिकारलाई हेर्दा ठ्याक्कै मेल खान्छ ।
पढाई लेखाइमा अब्बल चन्ता यति बेला खाने जोहो मात्रै होइन, २/४ रुपैयाँ जोगाड पनि गर्न थालेकी छन् । हुन त उनको कामलाई सुरुका दिनमा समाजले खासै इज्जत दिइन्नथ्यो ।
काम गर्दै र ग्राहकलाई सन्तुष्टि दिँदै गएपछि ब्युटी पार्लरको काम गर्ने चन्ता बिस्तारै सबैको प्यारी मान्छे बनिन् । उसो त, चन्ता एकल महिला हुन् । एकल महिलालाई समाजमा केही नयाँ काम गर्न सजिलो भने छैन । तर पनि, चन्ताले समाजमा आफूलाई स्थापित गर्न समय लगाइनन् ।
चन्ताको दिनचर्या र व्यक्तित्व बदलिन लामो समय लागेन । अरू एकल महिलाले गर्न नचाहेको कामको सिप चन्ताले २०६१ सालमा सिकेकी थिइन् । त्यही कामलाई उनले दैनिकी चलाउने व्यवसायको रूपमा लिइन् र सफलता पनि प्राप्त गरिन् ।
चन्ताले २०५३ सालमा एसएलसी पास गरेकी थिइन् । उनी एसएलसी पछि स्टाफ नर्स बन्न चाहन्थिन् । तर, घरको आर्थिक अवस्थाका कारण उनको स्टाफ नर्स बन्ने सपना पुरा हुन सकेन ।
‘भविष्यमा स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच थियो । एसएलसीपछि नर्स बन्न चाहन्थेँ । घरको आर्थिक अवस्थाले नपुग्ने भएपछि नर्स पढ्न पाइनँ,’ उनले भनिन् ।
पढाइमा अब्बल चन्ताको नर्स बन्ने सपना पुरा नभए पनि उनले पढाइलाई भने निरन्तरता नै दिइन् । घर नजिकैको एक स्कुलमा उनले म्यानेजमेन्ट विषयमा कक्षा १२ पनि पास गरिन् ।
चन्ता पढाइलाई निरन्तरता नै दिन चाहन्थिन् । तर, घर परिवारको जिम्मेवारी सम्हालेकी उनले २३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिन पुगिन् । विवाह पछि भने उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।
उनले भनिन्–‘पढाइलाई निरन्तरता दिन चाहन्थेँ, तर घरको जिम्मेवारीले साथ दिएन । ब्याच्लर पढ्दा पढ्दै पढाई छुट्यो ।’
पढाइमा ब्रेक, पार्लरको ट्रेनिङ
पढाइलाई निरन्तरता दिन नसके पनि उनले हार मानिन् । उनले केही सिप सिक्नुपर्छ भन्ने उद्देश्यले सिटिइभिटिबाट पार्लरको तालिम लिइन् । पढाई नभए पनि सिप भए भोकै बस्नु पर्दैन भन्ने चन्ताको सोच छ । पहिले उनका श्रीमानले पनि थान्का पेन्टिङमा काम गर्थे । दुवै जनाको कमाई पनि राम्रो थियो ।
छोराछोरी र घरपरिवार पाल्न कसैसँग माग्नु पर्दैन थियो । तर, अचानक उनका श्रीमान् बिरामी परे । श्रीमान् बिरामीले थला परेपछि भने चन्तालाई आर्थिक, मानसिक र सामाजिक रूपमै समस्या सिर्जना भयो ।
जति उपचार गरे पनि श्रीमान्लाई लागेको गम्भीर रोग निको भएन । अनन्त बिरामी परेको केही वर्षपछि नै उनका श्रीमान्को मृत्यु भयो ।
‘धेरै हस्पिटल लग्दा पनि रोग पत्ता लागेन, अन्तिममा ग्राण्डी अस्पताल लगियो त्यहाँ रोग पत्ता लाग्यो । रोग पत्ता लागेता पनि दिनहुँ रोग बढ्दै गयो । थेरापी गरे, एक्सरसाइज गरेर ठिक हुन्छ भनिएको थियो । तर निको भएन’ उनले दुःख पोख्दै भनिन् ।
श्रीमान् गुमाएपछि चन्ताका दुःखका दिन सुरु भए । श्रीमान् पछिको एक्लो जीवन उनको लागि एक चुनौती जस्तै थियो । घर परिवार, छोराछोरीको जिम्मेवारी सबै उनको काँधमा आयो ।
श्रीमान् गुमाउनुको पिडा त छदै थियो । श्रीमान्को मृत्युपछि समाजले हेर्ने नजर नै भिन्न पाइन् उनले । समाज, घरपरिवार र छोराछोरीको जिम्मेवारी र चुनौतीलाई पार गर्नु सहज भने पक्कै थिएन ।
तर, चन्ताले हार मानिन् । उनले सिकेको सिपलाई फेरी प्रयोगमा ल्याइन् । सिटिइभिटीद्धारा आयोजित तालिमहरूमा आफूले सिकेको सिप अरूलाई सिकाउन थालिन् । यसबाट उनले पैसा त कमाइन्, तर समाजबाट भने नकारात्मक प्रतिक्रिया पाइन् । त्यसपछि उनले तालिम दिने काम पनि छोडिन् ।
‘आफूले सिकेको सिप अरूलाई सिकाउँथेँ, अलिकति आम्दानी पनि हुन्थ्यो,’ उनले भनिन् ‘तर, समाजका केही मान्छेले नकारात्मक सोचले हेरे । त्यसपछि त्यो काम नै छोडिदिए ।’
…अनि सुरु भयो विषेशा पार्लर
गर्दै आएको काम छोड्नु परेपछि चन्ताले केही न केही काम त गर्नु नै थियो । छोराछोरीको भविष्यलाई उज्ज्वल बनाउन चन्ताले पैसा नकाइ सम्भव थिएन ।
उनले आफ्नो माइतीसँग सरसल्लाह मागिन् । माइतबाट पनि उनलाई आफ्नै पार्लर खोल्न र त्यही काम गर्न सुझाव दिए । उनले आफ्नो कामलाई निरन्तरता दिन विषेशा नामक पार्लर सञ्चालन गरिन् ।
पार्लर खोल्न चन्तालाई उनका साथीहरूले आर्थिक सहयोग गरे । अहिले उक्त पार्लरबाट उनले राम्रो आम्दानी पनि गरिरहेकी छन् । छोराछोरीको पढाई खर्च पनि उनले पार्लरबाटै जुटाउँछिन् ।
‘छोराछोरीलाई पढाउनु पर्ने थियो । घरको जिम्मेवारी पनि थियो,’उनले भनिन्,‘साथीहरूको सहयोगले पार्लर खोलेँ, अहिले पार्लरबाटै राम्रो आम्दानी हुन्छ । घर खर्च चलाउन समस्या छैन ।’
उनको कामप्रतिको लगाव र आम्दानी देखेर सबैले प्रशंसा गर्छन् । यो मान, सम्मान र आम्दानीको पछाडि उनको धेरै सङ्घर्ष, निरन्तरको मेहनत र लगनशीलता लुकेको छ ।
विद्यार्थी पनि शिक्षक पनि !
विवाह पछि रोकिएको पढाई उनले श्रीमान् गुमाए पछि निरन्तरता दिन थालेकी छन् । चन्ता हाल प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत छिन् ।
उनको पढ्ने रहर यतिमा मात्रै रोकिने छैन । उनी त आफूले जति सक्यो त्यति नै पढ्ने योजनामा छिन् । उनले बिए पहिलो वर्ष र दोस्रो वर्ष पनि राम्रो अङ्क प्राप्त गरेर पास गरेकी छन् ।
श्रीमान् गुमाएपछि उनले मन भुलाउन पढाइ रोजेको बताइन् । उनले आफूलाई सकारात्मक सोच पाइराख्न पनि पढाइलाई निरन्तरता दिएको बताइन् ।
‘श्रीमानको मृत्यु भएपछि विक्षिप्त थिएँ, साथीहरू र घरपरिवारको सहयोगले फेरी पढ्न थालेँ । अहिले पढाई पनि राम्रो छ, सकेसम्म पढाइलाई निरन्तरता नै दिन्छु,’ उनले खुसी साट्दै भनिन् ।
चन्ता विद्यार्थी मात्रै होइनन्, एक असल शिक्षक पनि हुन् । उनी बिहान आफ्नो पढाइका लागि कलेज जान्छिन् भने दिउसो अरूलाई पढाउन कलेज जान्छिन् । उनले अक्सपोर्ट र नमुना महिला विद्यालयमा नेपाल भाषा पढाउँछिन् ।
चन्ता आफूलाई विभिन्न रूपबाट चिनाउन चाहन्छिन् । घरमा बुहारी र आमाको रूपमा, क्याम्पसमा विद्यार्थीको रूपमा, पार्लरमा व्युटिसियन र व्यवसायी र विद्यालयमा एक शिक्षकको रूपमा उनले आफूलाई चिनाउँछिन् ।
उनले भनिन्– ‘सबैलाई म्यानेज गर्न सक्छु । कलेज, स्कुल, व्यवसाय सबैलाई सम्हालेको छु । टाइम मिलाउन समस्या त हुन्छ । तर, पनि बहिनीहरूको साथ छ । काम गर्न पनि सजिलो हुन्छ ।’