सीताराम विवाहपञ्चमी : स्वयंम्बर कार्यक्रम सम्पन्न

धनुषा । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक परिक्रमा गरेर स्वयंम्बर सम्पन्न भएको हो ।

साँझदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाहमण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

तत्कालीन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञाअनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो ।

त्यसपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने चलन रहेको छ ।

आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *