ह्याट्रिक जितको दाउमा सुदूरपश्चिम, लुम्बिनी जितको खाता खोल्ने लक्ष्यमा
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ ।
जारी एनपस्एलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।
आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किंग्यसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।