एनपिएल : विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दोस्रो जित निकालेको छ ।

विराटनगर किंग्सलाई ७ रनले पराजित गर्दै कर्णाली याक्सले दोस्रो जित निकालेको हो ।

जितका लागि १३४ रनको लक्ष्य पाएको विराटनगर निर्धारित ओभरमा १२६ रनमा समेटियो । विराटनगरका निकोलस किर्टनले सर्वाधिक ४० रन बनाए ।

लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मार्टिन गुप्टिल ४ रनमा आउट भए । अकिब इलियास र बसिर अहमदले ८ रनको योगदान दिए । नरेन भट्टले ७ रन बनाउँदा सन्दीप लामिछानेले ६ रनको योगदान दिए ।

क्रिस सोल शून्य रनमा आउट हुँदा प्रतिश जिसी ७ रनमा नट आउट रहे । सन्दीप ६ रनमा नट आउट रहे ।

कर्णालीको जितमा नन्दन यादवले कसिलो बलिङ गरे । उनले ४ ओभर बलिङ गरेर १९ रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए ।

युवा स्टार विपिन शर्माले ४ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिस विक्रम सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा अल आउट हुँदै १३३ रन जोड्यो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ६६ रन र ओपनर देव खनालले ५३ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बोसिस्टोले ४९ बलमा ६६ रन र देबले ४८ बलमा ५३ रन जोडे । ओपनर शिखर धवनले ५ रनको योगदान दिए । अर्जुन घर्ती र चाडविक वाल्टनले १ र जिशान मकसूदले २ रन बनाए ।

अन्य ब्याटरहरु खाता समेत खोल्न सकेनन् । गुलशन झा, नन्दन यादव, युनिस विक्रम सिंह र विपिन शर्माले खाता समेत नखोली आउट भए ।

कप्तान सोमपाल कामी शून्य रनमा नट आउट रहे । उनले १ बल पनि सामना गरेनन् ।

बलिङमा भने विराटनगरका प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । बसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिए । अकिब इलियासले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *