कस्तो छ धनगढीका मेयर हमालको स्वास्थ्य ? मस्तिष्कघात भएपछि दिल्ली लगियो
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसार उनलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो ।
श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात Stroke (cerebellum infraction) को समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाई छ ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए । स्वतन्त्र रुपमा निर्वाचित भएर राम्रो काम गर्ने जनप्रतिनिधिको रुपमा हमाल देशविदेशमा परिचित छन् ।