एनपिएल : लुम्बिनीले पायो १ सय ३७ रनको लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा आइतबारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १ सय ३७ रनको लक्ष्य दिएको हो ।
जनकपुरका लागि अनिल साहले ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए ।
लुम्बिनीका लागि अभिषेक गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २/२ तथा सन्दीप जोराले १ विकेट लिए । टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको हो ।
लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
जनकपुर लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहान्छ । जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो ।