काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशूलीमा खस्यो
काठमाडौं । काठमाडौं आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीरबाट भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा खसेको हो ।
ग्यास लिएर काठमाडौँ आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले मकालुखबरलाई जानकारी दिए ।
भीरबाट खसेको ग्यास बुलेटको अगाडीको भाग भीरमा अड्किएको र ग्यास बोकेको पछाडिको भाग पानीमा तैरिरहेको देखिएको उनले बताए ।
‘कृष्णभीरबाट ग्यास बुलेट खसेको हो, अगाडीको भाग भीरमै छ । पछाडिको भाग त्रिशूलीमा तैरिरहेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू खटिएका छन् ।’
गाडी चालक पङ्कज कुमार भने फरार भएको उनले बताए । उनको खोजी कार्य भइरहेको सूचना अधिकारी सिलवालले जानकारी दिए ।