एनपिएलमा जनकपुर बोल्ट्सको लगातार चौथो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार चौथो जित दर्ता गरेको छ ।

लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार चौथो जित दर्ज गरेको हो ।

जनकपुरको जितमा हर्ष थाकेरले घातक बलिङ गरे । ४ ओभर बलिङ गरेका उनले ५ विकेट लिए । उनले २३ रन मात्रै खर्चिए ।

शेर मल्ल, ललित राजवंशी र किशोर महताले समान १–१ विकेट लिए ।

जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमा समेटियो ।

कप्तान रोहित पौडेलले ३५ र टम मूर्सले ३१ रन बनाए । अर्जुन साउँदले २० रन जोडे भने आशुतोष घिरैयाले ८ रन मात्रै जोड्न सके ।

बेन कटिङले ३ रनको योगदान दिँदा सन्दीप जोरा अन्तिम बलमा १६ रन बनाउँदै आउट भए । साद बिन जफर शून्य रनमा आउट हुँदा दुर्गेश गुप्ता ५ रनमा नट आउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।

लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे । आसिफ शेख १० बलमा १६ रन बनाए ।

हर्ष थाकेर, जेम्स निशाम समान १–१ रन जोडे । मोहम्मद मोहसिनले ३ रनको योगदान दिए । हेमन्त धामीले ९ रन जोडे ।

लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए । रोहित पौडेल र साद बिन जफरले समान २–२ विकेट लिए । सन्दीप जोराले १ विकेट लिए ।

लुम्बिनीले लगातार ४ खेलमा हार बेहोरेर दबाबमा छ । आजको खेलमा गुमाएसँगै उसको प्लेअफ सम्भावना कठिन बनेको छ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भयो ।

जनकपुरले भने लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाएको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, पोखरा र लुम्बिनीलाई पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *