काँग्रेस नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : डा.सुनिल शर्मा
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले पार्टी भित्रका नेताहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरेका छन् ।
नेपाली काँग्रेस कोशी प्रदेश प्रथम सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य राख्दै उनले हरेक नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका हुन् ।
उनले भने,‘जनताले प्रश्न उठाइ रहेका छन् । जनताहरू भ्रमित पनि भइरहेका छन् कि गाउँबाट सहर पस्नुभएको साथीहरू जो एक जोडी चप्पल लगाएर जानुभएको थियो अहिले राज्यलाई कर नबुझाई अरबपति कसरी बन्नु भयो ? तीन देखि सात करोडको गाडीहरू कसरी चढ्नुभयो ? नेपाली काँग्रेसले यसको छिनोफानो चिरफार गर्नुपर्छ । यो उदाहरणीय कार्य को थालनी नेपाली काँग्रेसबाट हुनुपर्छ ।’
उनले काँग्रेस पार्टीलाई एक बनाएर लैजानुपर्ने पनि बताएका छन् । शर्माले काँग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालासँग काम गरेको भएकाले उनले पार्टी भित्र सबैलाई मिलाएर लैजानुपर्ने धारणा राखे ।
उद्घाटन समारोहमा काँग्रेस नेता शेखर कोराला उपस्थित भएनन् । डा शर्माले भने,‘आज शेखर कोइराला यो सम्मेलनमा हुनुहुन्न । काँग्रेस सभापति शेरबहादुर देउवा बिपी कोइरालासँग काम गर्नुभएको मान्छे तपाईँले आफ्नो अन्तिम समयमा पार्टीलाई विभाजित नगरी मिलाएर लैजानुपर्छ । जे भयो भयो अब विराटनगरबाट सम्पूर्ण देशलाई मिलेर जाने सन्देश दिनुपर्छ, विभाजन गर्ने होइन,’ उनले भने ।
उनले पार्टीको एक अभिभावक बनेर सम्पूर्ण नेता कार्यकर्ता मिलाएर लैजान र २०८४ को चुनावमा पार्टीले बहुमत ल्याउने गरी अगाडि बढ्न पनि सभापती देउवालाई आग्रह गरे ।