राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न कोरियाली संसद असफल
एजेन्सी । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको महाभियोग प्रस्ताव पारित गर्न असफल भएको छ ।
सत्तारूढ पीपुल पावर पार्टीका अधिकांश सांसदहरूले मतदान गर्न अस्वीकार गरेका हुन् । युनकी श्रीमतीको घोटालाको छानबिन गर्ने विधेयकको विपक्षमा मतदान गरेपछि सत्तारुढ दलका १०८ सांसदहरूमध्ये धेरैजसो संसद भवनबाट बाहिरिएका थिए । सत्तारुढ दलका एकजना सांसद हलमै बसे र दुईजना बाहिरिएर फर्किएका थिए ।
राष्ट्रिय सभाका ३०० सांसदमध्ये १९८ ले पहिलो महिलाको विशेष अभियोजन अनुसन्धानसम्बन्धी विधेयकको पक्षमा मतदान गरे । विपक्षमा १०२ जनाले मत दिएका थिए । विधेयक पारित गर्न कम्तीमा दुई तिहाइ सांसदले मतदान गर्नुपर्ने हुन्छ ।
प्रमुख उदारवादी लोकतान्त्रिक पार्टीलगायत विपक्षी दलका सांसदहरूले सत्तारुढ दलका सांसदहरूलाई एक एक गरी नाम दिएर फर्केर मतदान गर्न आह्वान गरे । महाभियोग प्रस्ताव पारित गर्न दुई सयभन्दा बढी सांसदले हो मतदान गर्नुपर्छ ।
राष्ट्रिय सभाका सभामुख वू वोन–सिकले सत्तारुढ दलका सांसदलाई करिब तीन घण्टाको पर्खाइपछि गणपूरक संख्या नपुगेको भन्दै महाभियोग प्रस्ताव खारेज भएको घोषणा गर्दै मतदान प्रक्रिया टुङ्ग्याएका थिए ।
संसद भवनबाहिर लाखौँ नागरिकले युनको महाभियोगको पक्षमा मतदानको माग गर्न मैनबत्ती जुलुस निकालेका थिए ।