ग्यास बुलेट दुर्घटना : चालक र सहचालकको खोजी गर्न गोताखोर परिचालन

काठमाडौँ । धादिङको कृष्णभीरमा भएको भारतीय ग्यास बुलेट दुर्घटनामा परेका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट आइतबार धादिङमा दुर्घटनामा परेको थियो ।

एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता भएका थिए ।

डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरसहित सुरक्षा फौज परिचालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *