निजी क्षेत्र र कलाकारहरूको जोड- कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने

काठमाडौँ । निजी क्षेत्र र कलाकारहरूले कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा कर्णाली चलचित्र महोत्सवबारे आयोजित कार्यक्रममा बोल्दै कलाकार र निजी क्षेत्रका प्रतिनिधिहरूले सो आग्रह गरेका हुन् । उनीहरुले कर्णाली, कृषि, पर्यटन, ऊर्जा र जडीबुटीको खानी रहेकाले कर्णालीमा लगानी गर्नसके राज्यलाई आर्थिक फाइदा हुने बताए । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले सनेमामा काम गर्ने व्यक्तिले कहिले पनि कुनै ठाउँलाई अवहेलना नगर्ने बताइन् ।

उनले जति पुरानो ठाउँ भयो त्यति नै चलचित्रलाई कथाहरू पाउनका लागि महत्वपूर्ण हुने बताइन् । उनले कर्णाली चलचित्र निर्माण र छायांकनका दृष्टिकोणले महत्वपूर्ण रहेको बताइन् ।

उनले भने ‘सिनेमामा काम गर्ने व्यक्तिको हैसियतले हामी कहिले पनि कुनैपनि ठाउँलाई अवहेलना गर्दैनौँ । हाम्रो लागि जति पुरानो, जति ऐतिहासिक, जति पछि राखिएको ठाउँ हुन्छ, उति नै महत्वपूर्ण हुन्छ । किनभने त्यहाँका कथाहरू छोइएका हुँदैनन् ।’

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीमा बनाइएका चलचित्रहरू उत्कृष्ट बनिरहेको बताए । उनले कथा र पात्रहरू नयाँ भेटिने र त्यसलाई आम दर्शकले पनि मन पराउने गरेको बताए । उनले कर्णालीका धेरै ठाउँहरू चिनाउन बाँकी रहेको बताए ।

उनले भने ‘कर्णालीमा बनाइएका फिल्म क्यारेक्टरवेश र कथावेश फिल्म बनिरहेको छ । कर्णालीमा नयाँनयाँ कथा र चरित्रहरू भेटिन्छ । धेरै ठाउँहरू पर्दामा आएकै छैनन् । चिनाउन धेरै ठाउँ बाँकी नै छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रले लगानी बढाइरहेको बताइन् । उनले कर्णालीको विकास गर्नसके राज्यको आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास व्यक्त गरिन् । उनले कर्णालीको विकास गर्नसके जडीबुटी, पर्यटन, कृषि र चलचित्र क्षेत्रमा फड्को मार्ने अवस्था रहेको बताइन् ।

उनले भनिन् ‘चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्र पनि लागिरहेको छ । कर्णालीको विकास गर्ने हो भने राज्यको अवस्थामा सुधार आउँछ । त्यहाँ लगानी बढाउनुपर्छ । अहिले भइरहेको व्यापार घाटा, निजी क्षेत्र धराशायी भइरहेको छ । यस्तो बेलामा कर्णालीमा ऊर्जा, जडिबुडी र कृषिमा लगानी बढाउनु पर्छ । हामीले पर्यटकहरू बढाउन सकिन्छ, त्यहाँको हरेक विकास हुन्छ, आर्थिक रुपमा परिचालन गर्नसक्छौँ । चलचित्रको लागि राम्रो ठाउँ पनि छ ।’

उनले कर्णालीको विकाससँगै आर्थिक रुपमा सबल बन्न सकिने र पर्यटकहरू बढाउन सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *