सिरिया संकट : आधा शताब्दीको पारिवारिक राज अन्त्य, पूर्व राष्ट्रपति असद भागेर मस्को पुगे
काठमाडौं – सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन् ।
विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो । यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल-जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए । त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया मुक्त भएको घोषणा गरेका थिए । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए । रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए । असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको थिएन ।
सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको बताएको थियो । असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरिरहेका छन् । सामाजिक सञ्जालमा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ ।
विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई पूर्ण रूपबाट स्वतन्त्र पारेको बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका थिए । विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो ।
राजधानी कब्जापछि सिरियामा कसले के भने ?
सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको बताएका छन् । सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन् ।
‘हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू – जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ,’ उनले एक्समा लेखेका छन्, ‘त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन । मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ ।’
देशलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहेर देशमा सरकारको निरन्तरता कायम राख्ने काम गर्न सघाउन तयार रहेको बताएका थिए । उनले बशर अल-असद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको उल्लेख गरे । नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल-शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन् ।
अबु मोहम्मद अल-जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन् । आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्।
आधा शताब्दीको पारिवारिक राज अन्त्य
दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ । सन् २००० मा आफ्ना बुवालाई पछ्याउँदै सत्तामा आउँदा बशर अल-असद सुरुमा सुधारवादी नेताका रूपमा थिए । तर अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीहरूविरुद्ध निर्मम रूपमा उत्रिएपछि उनको त्यस्तो छवि मेटिएको थियो ।
सुरुमा नागरिक समाजका तर्फबाट भएको उक्त विरोधमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भए र सिरियामा गृहयुद्ध सुरु भयो । उनी विद्रोही पकडका क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारसँग जोडिएका छन् । असदले यस द्वन्द्व सिरिया टुक्र्याउन चाहने पश्चिमा शक्तिहरूले उक्साहटबाट सिर्जना भएको आरोप लगाउने गर्छन् । बीबीसी