वाम दललाई एक ठाउँमा ल्याउने कसरतमा प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी दलहरूबीच एकता वार्ता सकारात्मक दिशामा अघि बढेको खुलासा गरेका छन् । उनले नयाँ राजनीतिक कोर्सको तयारी स्वरुप वामपन्थी दलहरूबीच एकता वार्ताअघि बढेको खुलाएका हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वामपन्थी दलहरूबीचको सहकार्यले नयाँ राजनीतिक कोर्स निर्धारण गर्ने संकेत दिए । प्रचण्डले एकता वार्ता गरेका दलहरूको नाम खुलाएका छैनन् । तर, माओवादी केन्द्रका एक नेताका अनुसार वार्ता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (एकीकृत समाजवादी) र महेन्द्र यादव नेतृत्वको नेसपासँग भइरहेको छ । वामपन्थी एकताको विकल्प नभएको धेरैको साझा निष्कर्ष रहेको प्रचण्डको भनाई थियो ।
उनका अनुसार वामपन्थी दलहरूको एकताले संविधानको कार्यान्वयन र समाजवादी परिवर्तनमा ठोस योगदान पुर्याउनेछ । यसअघि गठन गरिएको समाजवादी मोर्चा निष्क्रियजस्तै भए पनि नयाँ पहलहरू सकारात्मक दिशामा छन् । प्रचण्डले अबको राजनीतिक कोर्स परिवर्तन गर्न शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा राखे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन, विज्ञ व्यक्तिहरूलाई मन्त्री बनाउने व्यवस्थाको आवश्यकता रहेको बताए । ‘जनताको गणतन्त्र सुदृढ गर्न आन्दोलन अपरिहार्य छ,’ उनले भने, ‘त्यसका लागि माओवादी बलियो हुनैपर्छ ।’
जनताको बीचमा फर्कंदै माओवादी
प्रचण्डले माओवादी केन्द्रले अब जनताको विश्वास पुनःप्राप्त गर्न थालिसकेको बताए । हालै सम्पन्न उपनिर्वाचनको परिणामले माओवादीको लोकप्रियता बढ्दै गएको संकेत गरेको भन्दै देशभर २०६४ सालकै अवस्था फर्कने सम्भावना रहेको उनले दाबी गरे । प्रचण्डका अनुसार माओवादी राष्ट्र र परिवर्तनप्रति सबैभन्दा इमानदार दल भएको बोध जनतामा हुँदै गएको छ । यसले माओवादीलाई थप बलियो र जनमुखी बनाउने उनले विश्वास व्यक्त गरे ।
शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमति अनिवार्य रहेको बताउँदै प्रचण्डले विगतका सहमतिको योगदान स्मरण गरे । उनले अब वामपन्थी ध्रुवीकरण र बृहत् एकताका लागि आफूहरूले पहल जारी राख्ने प्रतिबद्धता जनाए । यो पहलले नेपालमा स्थिरता र प्रगतिशील राजनीतिक प्रणालीको विकासमा महत्वपूर्ण योगदान दिने आशा गरिएको छ ।