नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दालाई उपचारमा विशेष छुट उपलब्ध गराउने
काठमाडौँ । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारकालागि नोवेल आउँदा विशेष छुट उपलब्ध गराउने भएको छ ।
मंसिर २३ गते आइतबार विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जितन थापा तथा नोवेलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नोवेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय बासिन्दाहरूलाई उपचारमा विशेष छुट दिन लागिएको सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा आयोजित कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक डा. नेपालले बताए ।
उनका अनुसार वडा कार्यालयको सिफारिसमा विपन्न बिरामीहरूलाई छुट दिने गर्ने गरिएको थियो तर अव स्थानीय बासिन्दाहरूलाई औपचारिक रुपमा नै घोषणा गरी यो सहुलियतलाई थप सरल बनाइएको छ । कार्यक्रममा वडा अध्यक्ष थापाले सबै प्रकारको उपचार सेवा प्राप्त हुने र उपचारको लागि अन्यत्र गई रहन नपर्ने आफ्नै घर आँगनमा रहेको शिक्षण अस्पतालले थप सहुलियत पनि प्रदान गर्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आर्थिक रुपमा समेत राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने र सो अवधि भरमा अस्पताल सेवामा वडा नं. ४ का बिरामीहरूलाई २५ प्रतिशत, अपरेसन शुल्क र औषधीमा १० प्रतिशत उपलब्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका बिरामीहरूलाई भने नियमानुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ । कार्यक्रमको प्रभावकारिता हेरी आपसी सहमतिमा सम्झौता नवीकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ । यो सुविधा लिनको लागि बिरामीले आफ्नो परिचय खुल्ने कागजात पेस गर्नु पर्ने छ ।