नबिल बैंकले सुरु गर्यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ ।
तत्कालको लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको बताए । ‘हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ,’ ढुंगानाले भने ।
नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्ने जनाएको छ । नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ ।
नबिल बैंक लिमिटेडले ग्राहकको अनुभवका आधारमा नयाँ–नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको जनाएको छ । बैंकका अनुसार अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटलाइजेसन अन्तर्गतकै नयाँ आयमको रूपमा लिइएको हो । यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैंकले जनाएको छ ।
समय व्यवस्थापनका लागि उपयुक्त : बैंकका अनुसार यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरू र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रूपमा डिजाइन गरिएको हो ।
सहज बुकिङ प्रक्रिया : ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् । ग्राहकले बैंकमा जानु अघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ । यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ ।