रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनी लायन्सले पहिलो जित दर्ज गरेको हो ।
लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउण्ड प्रदर्शन गरे ।
ब्याटिङ र बलिङमा शानदार प्रदर्शन गर्दै कप्तान रोहितले टिमलाई पहिलो जित दिलाए । ब्याटिङमा ८१ रनको बनाएका रोहितले बलिङमा पनि ४ विकट लिए ।
जितका लागि १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रनमा समेटियो ।
लुम्बिनीका बलरसामु चितवनका टप अडर ब्याटरहरु चल्न सकेनन् । सन्तोष कार्कीले १० रन जोड्दा विपिन रावल ५ रनमै आउट भए ।
सोहेल तानबीरले १ रनको योगदान दिँदा लुक बेन्केनस्टाइन ३१ रन बनाए । रवी बोपाराले १२ रन बनाए भने कप्तान कुशल मल्लले २० रन जोडे ।
जन निकोल लोफ्टी–इटन र अमरसिंह रौटेलाले समान ६–६ रनको योगदान नदिए । रिजन ढकाल १५ र नर सार्की २२ रनमा नट आउट रहे ।
बलिङमा लुम्बिनीका रोहितले सर्वाधिक ४ विकेट लिए । रामोन सिमन्ड्सले २ विकेट झारे ।
साद बिन जफर र अभिषेश गौतमले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । खराब शुरूवात गरेको लुम्बिनीले मात्र १ रन जोड्दा दुई ओपनर गुमायो ।
दोस्रो ओभरमा रिजन ढकालले ओपनर आशुतोष घिरोहियालाई १ रनमा र उन्मुक्त चन्द ० रनमा पबिलियनको बाटो देखाइदिए ।
शुरूवातमा नै दुई विकेट गुमाएर दबाबामा परेको लुम्बिनीले पावर प्लेमा २ विकेटको नोक्शानीमा ३३ रन मात्र बनायो ।
यसपछि अर्जुन साउद १५ रनमा र टम मोर्स १० रनमा आउट भए । यतिखेर लुम्बिनीले चार विकेटको नोक्शानीमा ४९ रन जोडेको थियो ।
संघर्ष गरेको लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सुझबुझपूर्ण ब्याटिङ गरे । रोहित र साद बिन जाफरले पाँचौं विकेटको लागि शतकीय साझेदारी गरे ।
उनीहरूले ११४ रनको साझेदारी गर्दा दुवैले अर्धशतकीय पारी खेले । रोहितले ४२ बलमा अर्धशतक पूरा गरे ।
उनले ५७ बलको सामना गर्दै ६ चौका र ५ छक्कासहित ८० रनको उत्कृष्ट पारी खेले । सादले ३५ बल खेलेर ४ चौका र १ छक्कासहित ५२ रन बनाए । बलिङमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए ।
पाँच खेलमा चितवनको यो दोस्रो हार हो । उसँग ६ अंक रहेको छ । पाँचौ खेलमा पहिलो जित निकालेको लुम्बिनीले अंकको खाता खोलेको छ । पाँच खेलबाट २ अंक जोड्दै लुम्बिनीले प्ले अफको झिनो संभावनालाई कायमै राखेको छ ।