काठमाडौंसँग लुम्बिनीको लज्जास्पद हार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले दोस्रो जित निकालेको छ ।
लुम्बिनी लायन्सलाई १८ रनले पराजित गर्दै काठमाडौँले लिगमा दोस्रो जित दर्ज गरेको हो ।
लुम्बिनीलाई पराजित गर्न काठमाडौँका सबै बलरहरूले शानदार प्रदर्शन गरे । काठमाडौँको कसिलो बलिङसामु लुम्बिनीका ब्याटरहरु चल्न सकेनन् ।
जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो ।
लुम्बिनीलाई सस्तैमा अल आउट गर्न काठमाडौँका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । २ ओभर बलिङ गरेका करणले २६ रन खर्चिएर ४ विकट लिए ।
दीपेश कँडेलले महत्त्वपूर्ण ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेका उनले मात्र ६ रन खर्चिएर ३ विकेट लिए । गेर्हार्ड इरास्मसले २ तथा राशिद खानले १ विकेट लिए । इरास्मसले १९ रन खर्चिए भने राशिदले २२ रन दिए ।
ब्याटिङमा भने लुम्बिनीका सन्दीप जोराले २६ रन बनाए । यो नै लुम्बिनीका ब्याटरले बनाएको उच्च स्कोर हो । उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
आशुतोष घिरैयाले ४ रन बनाउँदा अर्जुन साउँदले ३ रन मात्रै जोडे । टम मूर्सले ६ रनको योगदान दिए ।
कप्तान रोहित पौडेलले ८ रन जोड्दा साद बिन जफर शून्य रनमा पेभिलियन फर्किए ।
पावर हिटर विवेक यादव आज पनि चल्न सकेनन् । विवेकले २ रन मात्रै जोड्न सके । रामोन सिमन्ड्स र अभिषेक गौतम शून्य रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं गुर्खाजले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन जोड्यो ।
लुम्बिनीका बलर सामू काठमाडौँका ब्याटरहरु खुलेर खेल्न सकेनन् । काठमाडौँका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । ड्यान ड्वाथवेट २१ रन बनाए ।
माइकल लेभिट शून्य रनमा आउट भए भने जेहार्ड एरास्मस १ रन बनाउँदै आउट भए । सुमित महर्जनले ४ रनको योगदान दिए भन् स्टेफन स्केनाजीले १३ रन जोडे ।
राशिद खान र करण केसीले समान १–१ रन जोडे । प्रतीक श्रेष्ठ २० रन बनाएर आउट भए । साहब आलमले ८ रन बनाए ।
बलिङमा लुम्बिनीका साद बिन जफरले सर्वाधिक ३ विकेट लिए । उनले २१ रन मात्रै खर्चिए । रामोन सिमन्ड्स र अभिषेक गौतमले समान २–२ विकेट लिए ।
सूर्य तामाङ र विवेक यादवले समान १–१ विकेट लिए ।