पत्रकार महासंघ निर्वाचन

पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल पत्रकार महासंघले यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनcको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरुमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरुमा पुर्‍याइसकेको छ ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन् ।

मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिर सहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि महासंघका सम्पूर्ण मतदाता सदस्य तथा सरोकारवाला पक्षहरुलाई महासंघले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *