बार्सिलोना र आर्सनलले जित निकाल्दा युभेन्ट्ससँग हार्यो सिटी
काठमाडौं । खराब लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा पुनः पराजित भएको छ । एलियान्ज स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले सिटीलाई २-० ले पराजित गरेको हो ।
घरेलु टोलीलाई जिताउन डुसान भ्लाहोभिक र वेस्टन म्याकेनीले गोल गरे । यो नतिजाले सिटीको समस्या अझ बढेको छ । अब सिटीमाथि अन्तिम १६ पुग्न नसक्ने डर उत्पन्न भएको छ ।
बार्सिलोनाले बोरुसिया डर्टमुन्डलाई ३-२ ले हराएको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । आर्सनल पनि मोनाकोमाथि को ३-० को जितसँग १३ अंकमा तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
अन्य खेलमा एटलेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३-१, लिलले स्ट्रम ग्राजलाई ३-२, एसी मिलानले एफके क्राभेनालाई २-१, फायनउडले स्पार्टक प्रागलाई ४-२ र स्टुटगार्टले योङ ब्वाइजलाई ५-१ ले हरायो । बेनफिका र बोलोग्नाले गोलरहित बराबरी खेले ।