प्रतिवेदन बुझाउने तयारीमा प्रहरी, रवि लामिछानेविरुद्ध तीन मुद्दा दर्ता गर्नुपर्ने राय !
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारेको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । ५५ दिनदेखि हिरासतमा राखेको अनुसन्धान गरेको प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार अनुसन्धान अधिकारीहरूले प्रतिवेदन तयार पार्ने काम गरिरहेका छन् । ‘अबको १२ दिनभित्र सरकारी वकिल कार्यालयमा बुझाउने तयारी छ,’ उनले भने, ‘अनुसन्धान प्रतिवेदन चाँडै बुझाइनेछ ।’
लामिछाने कार्तिक २ मा काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराधमा संलग्न भएको आरोपमा मुद्दा दायर गर्ने तयारी गरिएको छ । यस प्रकरणमा संसदीय छानबिन समितिले पनि गम्भीर भूमिका खेलेको छ । समितिको प्रतिवेदनले सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्कमा अपचलन गरिएको ठहर गरेको थियो ।
सहकारी ठगी आरोपका आधारमा पूर्व डीआईजी छविलाल जोशीलाई असोज ६ मा पक्राउ गरिएको थियो । जोशीको पक्राउपछि अरू चार जनालाई पनि हिरासतमा लिइएको छ । लामिछाने, छविलाल जोशी, गुल्मीकी लिला पछाई, तनहुँका रामबहादुर खनाल, र पोखराका कृष्ण गुरुङ प्रहरी हिरासतमा छन् । यस अतिरिक्त कम्तीमा ३५ जनालाई फरार प्रतिवादीको रूपमा कायम गर्न सुझाव दिने तयारी गरिएको छ ।
लामिछानेले आफ्नो नाममा ऋण निकासा भएको विषयमा कुनै जानकारी नरहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन ।’ प्रहरीका अनुसार, सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा, र सानो पाइला सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरिएको देखिएको छ ।
कानुनी प्रावधानअनुसार, जोशी पक्राउ परेको दिनदेखि गणना गरी पुस ५ भित्र अभियोग पत्र दायर गर्नुपर्ने समयसीमा छ । ठूलो जनचासो बटुलेको यो प्रकरणले अनुसन्धानको नतिजा सार्वजनिक भएपछि यसमा थप रहस्य खुलेर आउने अनुमान छ ।