सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेको छ ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १८ रनको योगफल बनायो । उक्त लक्ष्य पछ्याएको विराटनगर किङ्सले ६ बलमा ५ रन मात्रै जोड्न सक्यो ।
यससँगै पोखराले सुपर ओभरमा विराटनगरमाथि १३ रनको जित निकाल्यो ।
सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको पोखराका रेमन राइफरले शानदार प्रदर्शन गरे । उनले विराटनगरका सन्दीप लामिछानेको पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे ।
तेस्रो बल डट राखे पनि सन्दीपले चौथो बलमा ४ रन दिए । त्यसपछि पाँचौँ र छैटौँ बलमा १–१ रन दिए । सन्दीपले ६ बलमा १८ रन खर्चिएका थिए ।
१९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै जोड्न सक्यो । मार्टिन गप्टिल र निकोलस किर्तन रेमन राइफरको बलिङसामु निरीह बने ।
त्यसअघि पोखराका आन्द्रेस गौसले सर्वाधिक ३९ रन बनाए । २७ बल खेलेका उनले सात चौका प्रहार गरे । कप्तान कुशल भुर्तेलले ३१, दिनेश खरेलले ११ रन बनाउँदा रेइफर ३४ र नारायण जोशी दुई रनमा अविजित रहे ।
विराटनगरका प्रतिश जिसीले सर्वाधिक चार विकेट लिए । चार ओभर गरेका उनले १८ रन खर्चिए । क्रिस सोलले दुई विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
विराटनगरका स्कट एडवार्ड्सले डेब्यु खेलमै सर्वाधिक ४५ रन बनाए । ३५ बल खेलेका उनले पाँच चौका प्रहार गरे । ओपनर लोकेश बम २६ रनमा आउट हुँदा निकोलस क्रिर्टनले १९ रन बनाए ।
बसिर अहमद २१ र प्रतिश जिसी चार रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । पोखराका सागर ढकाल र रेमन रेफरले समान दुई विकेट लिए । कुशल भुर्तेल र दीपेश खरेलको नाममा समान एक विकेट रह्यो ।