काठमाडौंलाई ५ विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा
काठमाडौं । जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुगेको छ ।
बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको हो । जनकपुर बोल्ट्स प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्यो ।
जितका लागि काठमाडौँले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि हर्ष थाकेरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमा समेटियो ।
काठमाडौँका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे ।
स्टेफन स्किनाजीले १७ रनको योगदान दिए । माइकल लेभिट ८ रन बनाउँदै आउट भए ।
भीम सार्कीले ४ रन बनाउँदा सुमित महर्जन खाता नै नखोली पेभिलियन फर्किए । राशिद खानले ७, डेनियल डथवेटले १, प्रतीक श्रेष्ठले ६ साहब आलमले ८ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।