दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, तर तत्काल नछुट्ने
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएपछि नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो । प्रसाईँमाथि मुद्दासमेत दर्ता भएको थियो ।
साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ को अन्तर्गत सजाय हुन मागदावी गरेका थिए । तर, अदालतले प्रसाईँलाई रिहा गर्न आदेश दियो ।
यद्यपि प्रसाईँ तत्काल रिहा नहुने बताइएको छ । प्रसाईँमाथि सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ ।
जिल्ला अदालत काठमाडौँले धरौटीमा छाडे पनि उनी रिहा हुने छैनन् । प्रसाईँ यही मंसिर ४ गते उनी घरबाटै पक्राउ परेका थिए ।
बयानामा भने दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बताएका थिए ।
उनले उक्त कागजात कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई पठाएको बयान दिएका थिए ।
उनले कम्बोडियामा बस्ने एक नेपालीले प्रधानमन्त्री ओलीले लगानी गरेको विषयमा फोनमा बताएको र सोही आधारमा आफूले बोलेको बयान दिएका हुन् ।