कर्णाली याक्सको चौथो जित, लुम्बिनी ५ रनले पराजित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सले चौथो जित निकालेको छ ।

शुक्रवार भएको खेलमा लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णाली याक्सले चौथो जित दर्ता गरेको हो ।

जितका लागि १ सय २९ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि टम मूर्सले सर्वाधिक ३६ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

ओपनर आशुतोष घिरैयाले १६ र अर्जुन साउँदले १३ रनको योगदान दिए । कप्तान रोहित कुमार पौडेल आज चल्न सकेनन् ।

रोहितले १० रन मात्रै जोड्न सके । सन्दीप जोराले २४ रनको योगदान दिँदा बेन कटिङ १ रन बनाउँदै बाहिरिए ।

साद बिन जफर १६ रन बनाएर खेलिरहेका बेला रन आउट भए । तिलकराज भण्डारी ३ र रामोन सिमन्ड्स ४ रनमा नट आउट रहे ।

कर्णालीको जितमा अन्तिम ओभरमा नन्दन यादवले किफायती बलिङ गरे । कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक २ विकेट लिए ।

सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा, विलियम बोसिस्टो र यूनिस विक्रम सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन जोड्यो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ रन बनाए । उनले १ छक्का र २ चौका हिर्काए ।

ओपनर बाबर हयातले २० रन जोडे भने चाडविक वाल्टनले १३ रनको योगदान दिए ।

कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनालले ३, गुलशन झाले ८, सोमपाल कामीले ७ र जिशान मकसूदले १ रन बनाए ।

बलिङमा भने लुम्बिनी लायन्सका विकास अग्रीले सर्वाधिक ३ विकेट लिए । तिलकराज भण्डारीले २ विकेट लिए ।

रामोन सिमन्ड्स, साद बिन जफर र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *