गाउँ गाउँमा सिंहदरबार पुग्छ भन्थे, खै त ?

सहरको सपना देख्नु तर जन्मिएको गाऊँ  नबिर्सनु

चर्च, गुम्बा जहाँ पुगेपनी आफ्नो श्रीराम नबिर्सनु

पद, प्रतिष्ठा, सम्मान नसा जस्तै हो मत्याउला

जति माथि पुगे पनि, टेकेको त्यो ठाउँ नबिर्सनु

धान झुल्ने खेतहरूमा, गाँजै–गाँजा अचेल

जनता निदाएका, नयाँ नेता ताजा– ताजा अचेल

एउटा भए पो धान्ने थियो, यो गरिब देशले

यता उता जता – ततै लौ, राजै–राजा अचेल

त्यो अत्याचार गर्नेको घाम डुब्छ भन्थे खतै ?

त्यो गरिबको आँसुको दह, सुक्छ भन्थे खै त ?

आस गरेर कुरिरहेछ, आँखै नझिम्काईकन

गाउँ गाउँमा सिंहदरबार, पुग्छ भन्थे खै त ?

मायामा पराई मान्छे  आफन्त भएको पत्तै हुन्न

हेर्दाहेर्दै त्यो शिशिर वसन्त भएको पत्तै हुन्न

बातै पिच्छे भाषण पिच्छे अरूलाई शोषक भन्छौ

समय सँगै तिमी आफै सामन्त भएको पत्तै हुन्न

लाग्छ पाउ मुनी धर्ती, सिरमाथि आकाश छैन

कागजको रैछ फुल, त्यसमात  सुवास छैन

जसलाई गरे भरोसा, ढोका थुने बाँस माग्दा

त्यो विश्वास शब्दसँग, अब कुनै विश्वास छैन

उपहारमा पनि तिमी  दामको कुरा गर्छौ

मस्जिद भित्र छिर्छौ रामको कुरा गर्छौ

ब्लु लेभल र काजुमा अभ्यस्त छन् नेता

बेकारमा भोड्का र बदामको कुरा गर्छौ

चल्लाहरू टिप्न छाडे भन्छ, चिल कसरी पत्याउनु

सुन्दरीहरूको पछि लाग्दिन भन्छ दिल, कसरी पत्याउनु

गफ दिने पनि हद हुन्छ, हदै नाघेर त गफ नदिनु नि

अब झुट बोल्दै बोल्दिन भन्छ वकिल, कसरी पत्याउनु

खिया नलागोस्, तरबार तरबार जस्तो होस्

विश्वास नटुटोस्, परिवार परिवार जस्तो होस

केवल एउटा चाहना छ, यो सरकारसँग मेरो

प्रा.ली नबनोस्, सरकार सरकारजस्तो होस

कष्ट उस्तै छ, तिन तहका सरकार छन् अचेल

मिलाप छैन , टुक्रा, टुक्रा परिवार छन् अचेल

मान्छेले मान्छेलाई डस्न थालेपछि के लाग्छ

उ उता हेर । सर्पहरू बेरोजगार छन् अचेल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *