पुर्ख्यौली पेसा धानिरहेका बाबुराम भन्छन्- ‘यो पेसामा खुसी छैनौँ तर बाध्य छौँ’ (भिडिओ)

काठमाडौँ । ‘शिल्पकला’ सिन्धुपाल्चोक ठूलो धादिङ गाविसका बाबुराम घतानीको पुर्ख्यौली पेसा हो । उनका बाबु, बाजेले पनि यही पेसा गर्ने गर्थे । उनले सानैदेखि बुबासँग शिल्पकला सिकेका हुन् । हाल उनले यो पेसा गर्न थालेको २६ वर्ष  पुरा भइसकेको छ ।

पहिले उनी गाउँमा छँदा विभिन्न स्वरूपका काठका मुकुन्डोहरू बनाएर काठमाडौँमा बेच्ने गर्थे । त्यसबेला मुकुन्डोको व्यापार पनि राम्रो हुन्थ्यो । तर बजार टाढा हुँदा उनले थुप्रै समस्याहरूको सामना गर्नु पर्यो ।

‘गाउँमा आफैले गाडिभाडा खर्च गरेर, सरकारलाई कर तिरेर, प्रहरीहरूलाई पनि कर तिरेर बेच्ने गरेका थियौँ । हामीले गाउँबाट सामानहरू ल्याउँदा पुलिसहरूले धेरै पक्रे । धेरै तनाव भयो ।’ उनले भने ।

गाउँमा बसेर काम गर्दा ढुवानीमा विभिन्न सास्ती भोग्नुपरेपछि शिल्पकार घतानीले काठमाडौँमै बसेर काम गर्ने सोच बताए । त्यसपछि उनले अन्य साथीहरूलाई त्यसै गरौँ भनेर आह्वान गरे । सबैलाई उनको सोच मन पर्यो । घतानीसहित अन्य ४ जना साथीहरू पनि त्यसैबला भक्तपुर पसे ।

अहिले घतानी र उनका साथीहरूले भक्तपुरमा एउटा पुरानो सटर भाडामा लिएर भैरव, गणेश, बुद्ध र शिवको लगायतको मुकुन्डो बनाएर बेच्ने गरेका छन् । उनीहरू बिहान ६ बजेदेखि बेलुकी ७/८ बजेसम्म काम गर्छन् । उनीहरूले मुकुन्डो बनाएर दिनको १ हजार देखि १५ सय रुपैयाँसम्म कमाउने गरेका छन् ।

हाल उनीहरू भक्तपुरमा बसेर काम गर्न थालेको पनि अहिले १२ वर्ष पुरा भइसकेको छ । उनीहरूले भक्तपुरका विभिन्न स्थानबाट लहरे पिपलका रुखहरू खरिद गरि ल्याउँछन् र मुकुन्डो बनाएर ठमेलका विभिन्न टुरिस्ट पसलहरूमा बेच्ने गरेका छन् ।

भक्तपुरमा बसेर काम गर्दा सामान ढुवानीमा सहज भएको घतानीले बताए । उनले अहिले कुनै प्रशासनले पनि कारबाही गर्ने ठाउँ नभएको भन्दै खुसी व्यक्त गरे । उनले यता बसेर काम गर्दा मुकुन्डो बनाउने र खरिद गर्ने दुवै पक्षलाई सहज भएको सुनाए ।

उनले भने ‘हामी एउटै गाउँका हौँ । सामान ढुवानीमा समस्या भएकाले काठमाडौँमै मिलेर सटर लिएर बसौँ, भाडा तिरेर बसौँ, काम गरौँ भनेर योजना बनाएर यहाँ आएका हौँ ।’

कसरी बन्छन् काठको मुकुन्डो ?

शिल्पकार घतानीका अनुसार पहिले रुखको मुढालाई बिचबाट दुई चिरा हुनेगरि चिर्नु पर्दछ । उक्त रुखको एक फक्लेटोमा आकार कोर्नु पर्छ । त्यसपछि रुखलाई आकार दिएर मुकुन्डो बनाइन्छ ।

त्यसलाई कम्तीमा हप्ता दिन, नत्र १०/१२ दिनसम्म घाममा राम्ररी सुकाउनु पर्छ । सुकिसकेपछि मुकुन्डोलाई ग्यासमा पोल्नु पर्छ । त्यसपछि बुरुसले घोटेर कालो र काटिएको दागहरू सबै मेटाइन्छ । चर्केको ठाउँमा पनि हल्का पुटिङ लगाउने काम गरिन्छ । अन्त्यमा खाक्सी र रङ्ग लगाएर मुकुन्डो तयार पारिन्छ ।

मुकुन्डो बनाउन काठ कहाँबाट ल्याउँछन् घतानी ?

शिल्पकार घतानीले लहरे पिपलको रुखबाट मुकुन्डो बनाइने जानकारी दिए । उनले यो काठ भक्तपुर एरियामा सजिलै पाइने बताए ।

कहाँ र कसरी बिक्री गरिन्छ मुकुन्डो ?

शिल्पकार घतानी र उनका साथीहरूले मुकुन्डो बनाएर आ–आफ्नो स्वेच्छाले बेच्ने गरेका छन् । ती मध्य घतानीले चाहिँ काठमाडौँको ठमेलका विभिन्न टुरिस्ट पसलहरूमा मुकुन्डो बेच्दै आएको उनले बताए ।

उनले भने ‘हामीलाई प्राय काठमाडौँको ठमेल तिरबाट फोन आउँछ । टुरिस्ट पसलहरूबाट । ठेकेदार पनि हुन्छन् । उनीहरूले चैँ हजार, १२ सय पिस सबैतिरबाट एकैचोटि कलेक्सन गरेर लैजान्छन् । तर हामीलाई चैँ सानो तिनो पसलबाट अलिअलि आउने हो ।’

उनले कहिले काहि ठेकेदारलाई पनि मुकुन्डो बेच्ने गरेको बताए । उनले ठेकेदारलाई मुकुन्डो बेच्दा ६ महिनासम्म मुकुन्डो बनाउँदै स्टोर गरेर राख्न सक्नु पर्ने बताए ।

यसरी उनले बनाएका मुकुन्डोहरू काठमाडौँ, पोखरा, दार्जिलिङ हुँदै चितवनसम्म बिक्री हुने गरेका छन् ।

कति हुन्छ आम्दानी ?

शिल्पकार घतानीका अनुसार ३०-३५ इन्च भएको राम्रो डिजाइनको मुकुन्डो बेच्दा रु १०/१५ हजार सम्म मूल्य पाउन सकिन्छ । उनले त्यसका लागि हप्ता देखि १० दिन पनि लाग्न सक्ने बताए ।

उनले यस पेसामा यति नै कमाइ हुन्छ भन्ने नभएको बताए ।

उनले भने ‘महिनामा यति नै बिक्री भयो भन्ने निश्चित हुदैन् । कुनै महिना ५०, ६० पिस पनि हुनसक्छ । कुनै महिनामा २,३ सय पिस कट्छ । कुनै महिनामा जादैजादैन् । ६ महिनासम्म स्टोर पनि गरेर राख्नु पर्ने हुनसक्छ । बजारको माग अनुसार हुन्छ ।’

उनले बजारमा साधारण किसिमको मकुन्डोको अडर आएमा दिनको ५/६ पिस पनि बनाइ सिद्ध्याउने बताए । उनका अनुसार यस पेसाबाट दिनको हजार देखि १५ सय रुपियाँसम्म कमाइ गर्न सकिन्छ ।

उनले मुकुन्डोको साइज र डिजाइन अनुसार मूल्य निर्धारण हुने बताए ।

। उनले सानो २ इन्चको गणेशलाई २ सय रुपियाँ पर्ने बताए ।

शिल्पकला लोप हुने अवस्थामा छैन

घतानीले यो पेसा लोप हुने अवस्थामा नपुगेको जानकारी दिए । उनले धेरै व्यक्तिहरूले शिल्पकला सिकिरहेका पनि बताए ।

उनले भने ‘ ठूलो धादिङ गाविस भरि नै यही पेसा गर्नेहरू छन् भन्दा पनि फरक पर्दैन । त्यहाँ प्रत्येक घरमा चैँ १-२ जना यो पेसा गर्नेहरू छन् ।

कामप्रति खुसी छैनन् घतानी

शिल्पकार घतानी यस पेसामा आफू खुसी नभएको बताउँछन् । सरकारले ठुलठुला कलकारखाना र उद्योगहरूलाई मात्रै ध्यान दिएको र साना पेसा गर्नेहरूलाई सरकारले प्राथमिकतामा नराखेकोमा उनले गुनासो गरे ।

उनले मुकुन्डो खरिद गर्ने डिलरहरूले एउटा मुकुन्डोलाई १५ सयमा बेच्दा उनीहरूलाई भने ३ सय रुपियाँ दिन पनि गाह्रो मान्ने बताए ।

उनले भने ‘बिहान ६ बजेदेखि बेलुकी ७/८ बजेसम्म खटिनु पर्छ हजार रुपियाँ कमाउनको लागि । त्यही भएर यो पेसामा खुसी छैनौँ तर बाध्य छौँ । के गर्नु, आफ्नो बालबच्चा पढाउनु पर्यो, खुवाउनु पर्यो । यही पेसामा खुसी हुनुपर्ने बाध्य छौँ हामी ।’

उनले पहिलेको तुलनामा अहिले मुकुन्डोको बजार राम्रो नभएको बताए ।

शिल्पकला गर्न चाहनेहरूलाई घतानीको सल्लाह

‘महिनाको ३०/३२ हजार कमाउन लाई चैँ घामपानी खप्नु परेन । टाढा जान परेन । भित्र बसेर आनन्दले नै कमाइन्छ । आज काम छैन, के काम खोज्न जाने ?, त्यसको चिन्ता चैँ हुदैँन् ।’ उनी भन्छन् ।

घतानीले महिनामा ३० देखि ३५ हजार सम्म कमाइ गर्न सकिने बताए । उनले त्यो भन्दा माथि कमाइ नहुने बताए ।

शिल्पकार घतानीले बेरोजगारी युवाहरू आफू कहाँ शिल्पकला सिक्न आउन अनुरोध गरेका छन् ।

‘उनले यदि युवाहरू काम नै छैन, बेरोजगार हुनुहुन्छ भने आउनुस् हामी तालिम दिन्छौँ, सिकाइ दिन्छौँ । सबैजना मिलेर जाऔँ, त्यसमा एउटा ठूलो कलकारखाना नै खोलौँ ।’

उनले भने ‘दिनको ५ हजार, १० हजार कमाउन नसकिएला तर दिनको १२/१५ सय चैँ हामी कमाउने बनाइदिन सक्छौँ ।’

सरकारसँग घतानीको गुनासो र माग

शिल्पकार घतानीले रुखहरू ढुवानी गर्दा धेरै नै समस्या भएको बताए । उनले व्यक्तिको रुख किनेर ल्याउँदा पनि सरकारी निकाय र पुलिस प्रशासनहरूबाट धेरै झमेला खप्नु परेको गुनासो गरे ।

भने ‘हामीले मरी मरी मुढा काटेर , गाडीमा राखेर ल्याउँछौँ । अब त्यहाँ निर पुलिसहरूले समाउँछन् । समाएपछि कहाँको रेन्जर भन्छन् । हामीले त व्यक्तिको रुख किनेर ल्याउने हो । सरकारी जंगलमा गएर काटेर ल्याउने त होइन । र पनि हामीले धेरै नै दुख पाउँछौँ । त्यसबेला पुलिसहरूले नसमाती दिए भने सहज हुन्थ्यो ।’

उनले सरकारसँग मुकुन्डो बनाउने पेसालाई दर्ता गर्नुपर्ने माग राखे । उनले केही प्रतिशत लोन दिएर बेरोजगारी युवाहरूलाई यस पेसाबाट रोजगारी दिने सिलसिला मिलाउन सरकारलाई आग्रह गरे ।

उनले सरकारले यस पेसामा लागेका व्यक्तिहरूलाई ध्यान दिनुपर्ने बताए ।

कोभिड १९ मा शिल्पकलाको अवस्था अस्तव्यस्त

शिल्पकार घतानीले हाल भक्तपुरमा बसेर सहजै मुकुन्डो बनाएर बेच्न पाउँदा सबै साथीहरू एकदमै खुसी भएको बताए ।
उनले भने ‘गाउँघरमा बसेर ५, ७ हजार कमाउन सकिँदैन भने यहाँ आएर ३०-३५ हजार कमाउँदा खुसी को हुँदैन र ।’

घतानीले कोभिड १९ को समयमा भने आफूहरूलाई धेरै नै आर्थिक समस्या भएको अनुभव सुनाए । उनले त्यसबेला सबै कारखानाहरू बन्द हुँदा यो पेसा अब चल्दैन होला भन्ने लागेको उनले बताए ।

उनी भन्छन् ‘त्यत्तिखेर हामी गाउँमा नै गएर बस्यौ । जब यो लकडाउन खुल्यो तब मात्र आएका हौँ । त्यसबेला अब चैँ यो पेसामा लागि परेर ठिक छैन, अब पक्कै पनि यो चल्दैन होला भन्ने लागेको थियो । तर अहिले चल्दा चैँ खुसी नै छम् ।’

शिल्पकार घतानीले कसैलाई काम नपाएर दिनमा ५ सय कमाउन पनि गाह्रो भएको र कोही खान नपाएर पाटीमा पनि बस्नु पर्ने अवस्था भएको बताए । उनले दिनमा १५ सय कमाउँदा कि खुसी नहुने भन्ने प्रश्न गर्दै आफ्नो खुसी व्यक्त गरे ।

के छ अबको योजना ?

शिल्पकार घतानीले यस पेसालाई बढाउँदै लैजाने योजना नभएको बताए । उनले शिल्पकलालाई विस्तार गर्ने इच्छा भएपनि पुँजी नभएको भन्दै गुनासो गरे ।

उनी भन्छन् ‘कसले लगानी गरिदिन्छ । नत सरकारले गरिदिन्छ नत आफूसँग नै छ । १ किवी काठलाई साढे ३ सय देखि ४ सयको हाराहारीमा पर्न जान्छ । फेरी यो बनाउन हामीलाई एक दिनभरि नै लाग्छ । बेच्दाखेरि १५ सय रुपियाँ आउँछ ।’

उनले यस पेसालाई विस्तार गर्न धेरै परिश्रम र लगानी आवश्यक पर्ने बताए । उनले परिश्रम अनुसारको मूल्य पनि नपाएको भन्दै गुनासो गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *