‘दुई ठूला राजनीतिक दलहरू मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाए पनि आर्थिक सुधार हुन नसकेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपछि निजी क्षेत्रले आर्थिक सुधार हुने अपेक्षा राखेपनि आर्थिक सुधार हुन नसकेको बताए । उनले मौद्रिक नीति पनि कछुवाको गतिमा सुधार भइरहेको बताए ।

उनले चितुवाको गतिमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘संसदका दुई ठूला दलहरू मिलेर सरकार बनेपछि निजी क्षेत्रले धेरै आशा लिएको थियो । तर अहिलेसम्म खै आर्थिक सुधार त्यति हुन सकेको छैन । श्रावणमा केन्द्रीय बैंकले लचिलो मौद्रिक नीतिको सुरुवात गरेको थियो र आशा थियो कि त्यो मौद्रिक नीति क्रमशः सुधारोन्मुख हुन्छ भनेर तर पनि अत्यन्त ढिलो गतिले सुधारोन्मुख छ । कछुवाको तालले मात्रै चलिरहेको छ । चितुवाको गतिले नीतिगत सुधारहरू हुनुपर्यो ।’

अध्यक्ष अग्रवालले देशलाई आर्थिक दृष्टिकोणले नयाँ दिशा दिन निजी क्षेत्र तयार रहेको बताए । शिथिल अर्थतन्त्रबाट उन्मुक्ति नपाएसम्म क्रेडिट रेटिङले मात्रै नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *