उद्योगहरूलाई एक पटक आफ्नो ऋण पुनः तालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छ- अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरूलाई आफ्नो ऋण पुनः तालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले उद्योगहरूको ब्ल्याक लिस्टिङ बढिरहेको उल्लेख गर्दै एक पटक सबैलाई आफ्नो ऋण पुनः तालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने बताए ।
उनले युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गरे । उनले मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले सूचना प्रविधिको क्षेत्रमा युवाहरूले राम्रो काम गरिरहेको बताए । युवाहरूको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।
उनले भने ‘अहिलेको अवस्थामा जुन हिसाबले उद्योगहरू समस्यामा परेको छ । ब्ल्याक लिस्टिङ बढिरहेको छ । यो एकचोटी क्रस द बोर्ड सबैलाई आफ्नो ऋण पुनः तालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने हुन्छ । युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा छ । मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र हो । सूचना प्रविधिको क्षेत्रमा हाम्रा युवाहरूले राम्रो काम गरिरहेका छन् । युवाहरूको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा प्रवर्द्धन गर्न अति आवश्यक छ ।’
अध्यक्ष अग्रवालले उच्च पहाडी तथा हिमाली क्षेत्रमा डेटा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए ।