पार्टी जीवनमा समस्या देखियो : महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको आज उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए ।
महासचिव पोखरेलले अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ,यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताए । उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए ।
महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए । उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गरे ।
महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताए । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको बताए ।
पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने भन्दै उहाँले माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए ।
उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।
स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले पार्टीको सङ्गठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपाय प्रस्तुत गर्दै पार्टीको अबको ध्यान वडा केन्द्रित अभियानमा हुनुपर्ने जोड दिए ।
एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताए ।
कार्यशालामा उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, पद्मा अर्याललगायतको सहभागिता रहेको थियो ।
कार्यशालामा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र सङ्गठन विभागका प्रमुख, जनसङ्गठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ ।