नीति र शासनमा युवा सहभागिता
काठमाडौं । सुर्खेतमा नीति र शासनमा युवा फेलोसिपको पहिलो प्रशिक्षण क्याम्प सुरु भएको छ ।
ऋति फाउन्डेसन र नेपालस्थित अमेरिकन दूतावासको आयोजनामा प्रशिक्षण क्याम्प सुरु भएको हो । प्रशिक्षणमा कर्णाली प्रदेशका १० वटा जिल्लाका ५० जना युवाहरू सहभागिता रहेको छ ।
पछिल्लो समय नेपालमा राज्यको मूलधारमा युवा सहभागिताको विषयमा ठुलै बहसको बनेको देखिन्छ । युवालाई राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत, परिवर्तनका संवाहकका साथै राष्ट्रको अमूल्य सम्मतिको रूपमा समेत लिइन्छ ।
साहस, सृजनशीलता, उत्सुकता र उच्च आत्मविश्वास बोकेका कारण यो समूहलाई राष्ट्र निर्माणको स्रोत समेत मानिन्छ । पछिल्लो जनगणनाअनुसार नेपालमा राष्ट्रिय युवा नीतिले परिभाषा गरेबमोजिम (१६–४०) उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको छ ।
यही सक्रिय जनसङ्ख्यालाई राज्यको मूलधारमा समाहित गर्ने उद्देश्यले पछिल्लो चरणमा युवा मामिला विकासलाई प्रधानताका साथ उठाउने गरिएको छ । कर्णाली प्रदेशमा अहिले ऋति फाउन्डेसनको आयोजनामा नीति र शासनमा युवाहरूको सहभागिता वृद्धि गर्न यो कार्यक्रम अगाडि सारिएकोमा खुसी छु ।
एक सहभागी युवाको हैसियतले यस फेलोसिप मार्फत कर्णाली प्रदेशका युवाहरूले देशको शासकीय स्वरूप, राज्य संयन्त्र र प्रणाली तथा कानुनको उत्पत्ति, निर्माण प्रक्रिया देखी प्रमाणीकरण सम्मका विषयमा परिचित हुने अवसरको समेत विश्वास लिएको छु ।
यस नीति र शासनमा युवा फेलोसिप मार्फत युवाहरूमा सार्वजनिक नीति र मामिलामा आवश्यक जानकारी हाँसिला गरी आवश्यक योगदान गर्न सक्ने पात्रको रूपमा विकास गर्ने भूमिका निर्वाह गर्ने छ ।
यसका अतिरिक्त सुविधा, सङ्घीय कानुन, तथा प्रदेश सभा नियमावली बमोजिम युवाहरूले समग्र कर्णाली प्रदेशका सवालमा आधारित रहेर प्रदेश सभा सदस्यहरूसँग प्रत्यक्ष÷परोक्ष रूपमा संलग्न रहेर सिकाइ अनुभव आदानप्रदान गर्ने सुनौलो अवसरको समेत सिर्जना गर्ने छ ।
यस फेलोसिपले युवाहरूमा विधायकी प्रणाली, विधि निर्माण प्रक्रिया, शासकीय स्वरूप, संसदीय मूल्य मान्यता, नेतृत्व विकास, नीति निर्माणमा युवा सहभागिता जस्ता विषयमा सरोकारवालाहरूको चासो बढ्दा पछिल्लो चरणमा यसले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।
युवराज खड्का, सहभागी, नीति र शासनमा युवा(कर्णाली प्रदेश)