एनपीएलमा आज सुदूरपश्चिम र कर्णालीबीच रोमाञ्चक भिडन्त, कसले जिते के हुन्छ ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अन्तर्गत अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने यो खेलले प्लेअफ समीकरणलाई अन्तिम रूप दिनेछ ।
लिग चरणको अन्तिम खेलपछि एनपीएलको पहिलो संस्करणका शीर्ष चार टोलीको छनोट पूरा हुनेछ । यसअघि सुदूरपश्चिम र जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । तर आजको खेलको नतिजाले अन्य तीन टोलीको स्थान र प्लेअफको समीकरणलाई थप रोचक बनाउनेछ ।
कर्णाली याक्सका लागि आजको खेल जित्नैपर्ने अवस्था छ । खेल जित्न सकेमा उनीहरूको क्वालिफायर पुग्ने सम्भावना बलियो हुनेछ, तर पराजयको अवस्थामा उनीहरूलाई नेटरनरेटको भर पर्नुपर्नेछ । फराकिलो अन्तरले हार भए कर्णाली लिगबाटै बाहिरिनेछ, जसले काठमाडौं गुर्खाजलाई प्लेअफको ढोका खोलिदिनेछ ।
सुदूरपश्चिम रोयल्सले भने कर्णालीलाई पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्न चाहन्छ । पराजय भए पनि उनीहरूको क्वालिफायर खेल्ने सम्भावना बलियो छ ।
आजको खेलले कर्णाली, जनकपुर, र काठमाडौंका लागि महत्वपूर्ण असर पुर्याउनेछ । कर्णालीले जितेमा जनकपुरको सिधै क्वालिफायर खेल्ने सम्भावना कमजोर हुनेछ भने काठमाडौं लिग चरणबाटै बाहिरिने छ । चितवन टाइगर्स भने अहिले समान अंक भए पनि नेटरनरेटका कारण सुरक्षित छ ।
एनपीएल प्लेअफमा शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । हार्ने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
लिग चरण सकिनुअघि नै लुम्बिनी लायन्स, विराटनगर किंग्स, र पोखरा एभेन्जर्सले प्रतियोगिताबाट बाहिरिने यात्रा तय गरिसकेका छन् । आजको खेलसँगै एनपीएलको प्लेअफ समीकरणलाई पूर्णता मिल्नेछ ।